
काठमाडौं । नेपाली कांग्रेसभित्र चुलिएको नेतृत्व र वैधानिकताको विवाद सुल्झाउन निर्वाचन आयोग निर्णायक छलफलमा जुटेको छ। महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा पक्षले पार्टीको नयाँ विवरण अद्यावधिक गर्न दिएको निवेदन र त्यसको विरुद्धमा शेरबहादुर देउवा पक्षले दर्ता गराएको असहमति पत्रका विषयमा आयोगले केहीबेरमा निर्णय दिने तयारी गरेको छ।
अहिले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरू सगुनशम्शेर जबरा, जानकी तुलाधर र आयोगका सचिवबीच सघन छलफल भइरहेको छ। उक्त छलफलमा कानुन तथा राजनीतिक दल महाशाखाका अधिकारीहरूलाई समेत सहभागी गराइएको छ जसले विवादको कानुनी र प्राविधिक पक्षको सूक्ष्म अध्ययन गरिरहेका छन्। आयोगले दिने निर्णयले नेपाली कांग्रेसको आगामी राजनीतिक दिशा र नेतृत्वको वैधानिकता निर्धारण गर्ने हुनाले यसलाई निकै चासोका साथ हेरिएको छ।
यसैबीच आयोगको निर्णय कुरेर बसेका दुवै पक्षका नेता तथा कार्यकर्ताहरूको भीडले निर्वाचन आयोगको कार्यालय अगाडिको सडक अवरुद्ध पारेका छन्। गगन थापा र शेरबहादुर देउवा पक्षका समर्थकहरू ठूलो संख्यामा सडकमा उत्रिएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ भने सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ। आयोगले केही समयभित्रै आफ्नो आधिकारिक निर्णय सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

























