
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन (शेरबहादुर देउवा) पक्षले गगन थापा नेतृत्वको ‘विशेष महाधिवेशन’ लाई चुनौती दिँदै सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ। निर्वाचन आयोगले गगन थापा नेतृत्वको नयाँ कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेपछि रुष्ट बनेको देउवा समूह आज कानुनी उपचारका लागि सर्वोच्च पुगेको हो।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा नेताहरू र कानुन व्यवसायीहरूको टोली रिट बोकेर सर्वोच्च पुगेका हुन्। देउवा पक्षका तर्फबाट अधिवक्ता लक्ष्मी दाहाल रावलले दिएको जानकारी अनुसार रिटमा निम्न मुख्य मागहरू गरिएका छन्।
पार्टीको विधि र विधानविपरीत बोलाइएको भनिएको विशेष महाधिवेशन र त्यसले चयन गरेको कार्यसमितिलाई पूर्णतः अवैधानिक करार गरी बदर गर्न माग गरिएको छ। निर्वाचन आयोगले विना आधार गगन थापा समूहलाई आधिकारिकता दिएको भन्दै उक्त निर्णय कार्यान्वयन नगर्न ‘अन्तरिम आदेश’ को माग गरिएको छ।
नियमित महाधिवेशनको मिति तय भइसकेको अवस्थामा भएको यो प्रक्रियाले पार्टी विभाजनको बीउ रोपेको देउवा पक्षको दाबी छ। गगन थापा र विश्वप्रकाश शर्मा समूहले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरेको थियो। निर्वाचन आयोगले बहुमत प्रतिनिधिको निर्णयलाई सदर गर्दै गगन थापालाई सभापतिको मान्यता दिएपछि देउवा पक्ष राजनीतिक र कानुनी रूपमा ‘ब्याकफुट’ मा परेको थियो।

























