
काठमाडौँ । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँको अनुरोधमा कास्की प्रहरीले उनलाई सोमबार पक्राउ गरेको हो।
प्रसाईंमाथि निर्वाचन आयोगलाई ५२ करोड रुपैयाँ घुस दिएको भनी भ्रमपूर्ण अभिव्यक्ति दिएको, सरकारी वेबसाइट ह्याक गरी डाटा चोरी गर्ने योजना बनाएको र निर्वाचन बहिष्कारको अभियान चलाएको जस्ता गम्भीर आरोपहरू लागेका छन्। उनलाई थप अनुसन्धानका लागि काठमाडौँ पठाउने तयारी भइरहेको कास्की प्रहरीका प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिएका छन्।
प्रसाईंले नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले निर्वाचन आयोगलाई ५२ करोड रुपैयाँ बुझाएर नतिजा आफ्नो पक्षमा पारेको आरोप सामाजिक सञ्जालमार्फत लगाएका थिए। यसका साथै, उनले पैसा लगानी गरेर सरकारी डाटा चोरी गर्न खोजेको भनिएको अडियो समेत सार्वजनिक भएको थियो। निर्वाचन आयोगले प्रसाईंलाई कारबाहीको दायरामा ल्याउन पत्राचार गरेपछि प्रहरीले यो कदम चालेको हो।

























