
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले अदालतमा विचाराधीन विषयलाई निर्वाचन आयोगले अहिले विश्लेषण नगर्ने स्पष्ट पारेका छन्। मनोनयन दर्ताको पूर्वसन्ध्यामा सोमबार एक अपिल जारी गर्दै उनले अदालतको आदेश सबैका लागि शिरोधार्य हुने भए पनि आयोगले आफ्नो पूर्वनिर्धारित कार्यतालिकामा कुनै संशोधन नगर्ने बताएका हुन्।
आयोगले चार महिनाअघि नै निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेकाले अब कुनै पनि विषयवस्तु थप्ने वा घटाउने काम नहुने भण्डारीको भनाइ छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भोलि माघ ६ गते बिहान १० देखि साँझ ५ बजेसम्म मनोनयन पत्र दर्ता हुने सुनिश्चित भएको उनले जानकारी दिए। लोकतन्त्रमा नागरिकको चुन्ने र चुनिने अधिकारलाई कसैले निषेध गर्न नसक्ने उल्लेख गर्दै उनले निर्धारित समयमै मनोनयन पत्र दाखिल हुनेमा आयोग पूर्ण रूपमा ढुक्क रहेको बताए।
उम्मेदवार आफैँ उपस्थित हुन नसके वारेसमार्फत पनि मनोनयन दर्ता गर्न सकिने कानुनी व्यवस्था रहेको स्मरण गराउँदै भण्डारीले मनोनयनका क्रममा बाजागाजा र तडकभडक गर्न निर्वाचन आचारसंहिताले पूर्णतः निषेध गरेको प्रष्ट पारेका छन्। उनले निर्वाचनको विकल्प निर्वाचन नै भएको भन्दै सबै सरोकारवालालाई निष्ठापूर्वक यो प्रक्रिया सम्पन्न गर्न सहयोगका लागि हार्दिक अनुरोध समेत गरेका छन्।

























