
दमक । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक सम्पत्ति जलाउने र तोडफोड गर्नेहरूलाई तत्काल कानुनको दायरामा ल्याएर कारबाही गर्नुपर्ने बताएका छन्। बुधबार आफ्नै गृह जिल्ला झापामा ‘जेनजी आन्दोलन’ का क्रममा क्षतिग्रस्त भएका संरचनाहरूको अवलोकन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।
उनले सार्वजनिक सम्पत्ति, नगरपालिकाका भवन तथा राजनीतिक कार्यकर्ताका घर र कार्यालय जलाउने कार्यलाई विशुद्ध आपराधिक गतिविधिका रूपमा व्याख्या गरे। अपराधलाई कुनै पनि बहानामा प्रोत्साहन गर्न नहुने उल्लेख गर्दै ओलीले देशलाई शान्तिपूर्ण र बस्नलायक बनाउन अपराध नियन्त्रण अनिवार्य रहेकोमा जोड दिए। ‘राष्ट्रिय र सार्वजनिक सम्पत्ति जलाउनु अपराध हो, अरूको घर जलाएर कसैले पनि उन्मुक्ति पाउनु हुँदैन,’ उनले भने।
अध्यक्ष ओलीले वर्तमान अन्तरिम सरकारले अपराधीहरूलाई संरक्षण गरिरहेको गम्भीर आरोप समेत लगाए। उनले देश जलाउनेहरूकै नेतृत्वमा सरकार रहेकाले दोषीमाथि कारबाही हुन नसकेको जिकिर गरे। ‘अहिलेको सरकार सायद उनीहरूकै भएकाले दोषीलाई जोगाउने काम भइरहेको देखिन्छ,’ ओलीले टिप्पणी गरे।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सोमबार झापा पुगेका ओलीले क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराइसकेका छन्। उम्मेदवारी दर्तापछि उनी अहिले आफ्नो निर्वाचन क्षेत्रमा विभिन्न कार्यक्रम र अवलोकनमा व्यस्त छन्।

























