
भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूमाथि अनावश्यक अभियोगहरू लगाइएको भए पनि अदालती प्रक्रियाको सधैँ सम्मान गर्ने बताएका छन्। जनकपुर र पर्सा हुँदै चितवन आइपुगेका लामिछानेले बुधबार अपराह्न काठमाडौँ फर्कने क्रममा भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै यस्तो बताएका हुन्।
उनले जे-जस्तो अवस्था भए पनि अदालतको विकल्प नरहेको र कानुनी प्रक्रियालाई स्वीकार गर्नुपर्नेमा जोड दिए। ‘नचाहिने कुराहरू लगाएर अभियोजनहरू भएका छन्, तर अदालतको विकल्प छैन। हामीले यो प्रक्रियाको सम्मान गर्नुपर्छ,’ लामिछानेले भने। उनले आफूमाथि धेरै मुद्दाहरू लगाइँदा मानसिक रूपमा विक्षिप्त बनाउने भए पनि अदालतप्रति आशा र भरोसा कायम रहेको बताए। अदालतका बहसहरू सडकमा आउनु राम्रो नभएको भन्दै उनले न्यायलयप्रति गलत टिप्पणी नगर्न समेत आग्रह गरे।
निर्वाचनका विषयमा सोधिएको प्रश्नमा लामिछानेले प्रतिस्पर्धा स्वस्थ हुनुपर्ने र नतिजा जे आए पनि स्वीकार गरेर अघि बढ्नुपर्ने बताए। उनले कुनै पनि राजनीतिक दलले मतदातालाई भड्काउने वा उत्तेजित बनाउने क्रियाकलाप गर्न नहुनेमा जोड दिए। चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका लामिछानेले यसपटक सिंगो चितवनलाई नै ‘घन्टीमय’ बनाउने दाबी गरे। चुनावी अभियानका क्रममा चितवनका जनताले सुरुवातमै उत्साहपूर्ण संकेत देखाएको उनको भनाइ छ।

























