
खाँदबारी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन जिल्ला प्रशासन कार्यालय संखुवासभाले सर्वसाधारणसँग रहेका इजाजतप्राप्त हातहतियार बुझाउन आग्रह गरेको छ।
प्रशासनले एक सूचना जारी गर्दै जिल्लाभित्र व्यक्तिगत रूपमा राखिएका सबै किसिमका हातहतियार तथा खरखजनाहरू माघ २० गतेभित्र नजिकैको प्रहरी कार्यालयमा बुझाउन अनुरोध गरेको हो। निर्वाचन अवधिभर हातहतियारको दुरुपयोग हुन नदिन र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै यस्तो निर्णय लिइएको प्रशासनले बताएको छ।
यसरी बुझाइएका हातहतियारहरू निर्वाचन प्रक्रिया सम्पन्न भएपछि सम्बन्धित धनीलाई नै फिर्ता गरिने व्यवस्था मिलाइएको छ। सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले निर्वाचनलाई विश्वसनीय र मर्यादित बनाउन सबै नागरिकको सहयोग आवश्यक रहेको बताए। उनले तोकिएको समयसीमाभित्र हातहतियार नबुझाए कानुन अनुसार कारबाही हुने समेत स्पष्ट पारे।

























