
विराटनगर । कोशी प्रदेश सरकार र कर्मचारी सञ्चय कोषबीच कर्मचारीहरूको योगदानमूलक निवृत्तिभरण (पेन्सन) व्यवस्थापनका लागि सम्झौता भएको छ ।
२०७६ साउन १ गतेयता कोशी प्रदेश सरकारका विभिन्न निकाय र प्रदेशभित्रका स्थानीय तहहरूमा नियुक्त भएका कर्मचारीहरूको पेन्सन व्यवस्थापन गर्ने उद्देश्यले दुई पक्षबीच सहमति पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कोशहरि निरौला र कर्मचारी सञ्चय कोषका तर्फबाट प्रशासक जितेन्द्र धितालले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार, अब सम्बन्धित कर्मचारीको मासिक आधारभूत तलबबाट ६ प्रतिशत रकम कट्टी गरी निवृत्तिभरण कोषमा जम्मा गरिनेछ । कर्मचारीको खातामा जति रकम कट्टी हुन्छ । त्यसमा प्रदेश सरकारले शतप्रतिशत अर्थात् थप ६ प्रतिशत रकम थपिदिने प्रावधान राखिएको छ ।
यसरी कर्मचारीको व्यक्तिगत खातामा कुल १२ प्रतिशत रकम जम्मा हुनेछ । सम्झौता कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले यो व्यवस्थाले कर्मचारीहरूमा नयाँ उत्साह र ऊर्जा थप्ने बताए ।

























