
सुनसरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सुनसरी क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका लालविक्रम थापाविरुद्ध उजुरी परेको छ। थापाले विद्यालयको रकम तिर्न बाँकी रहेको उल्लेख गर्दै उनको उम्मेदवारी खारेजीको मागसहित बुधबार उजुरी दर्ता भएको हो।
प्रतिनिधिसभा सदस्यका लागि सोही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएका सत्यनारायण पण्डितले इनरुवास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा थापाविरुद्ध उजुरी दिएका हुन्। उजुरीमा थापाले इटहरी ९ मा रहेको जनता माध्यमिक विद्यालयलाई ७४ लाख रुपैयाँभन्दा बढी रकम तिर्न बाँकी रहेको दाबी गरिएको छ।
विद्यालयको लेखा परीक्षणले समेत उक्त रकम बक्यौता रहेको ठहर गरेको उजुरीमा उल्लेख छ। सार्वजनिक संस्थालाई बुझाउनुपर्ने रकम बाँकी रहेको व्यक्ति उम्मेदवार बन्न अयोग्य हुने जिकिर पण्डितले गरेका छन्। सुनसरी क्षेत्र नम्बर २ का सहायक निर्वाचन अधिकृत अरुण मेहताले थापाविरुद्ध परेको उजुरीका सम्बन्धमा बिहीबार सुनुवाइ हुने जानकारी दिए। थापा यसअघि २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि सोही क्षेत्रबाट रास्वपाको उम्मेदवार रहेका थिए।

























