
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जनक शिक्षा सामग्री केन्द्रले मतपत्र छपाइको काम तीव्र बनाएको छ ।
केन्द्रका अनुसार हालसम्म १ करोड ४२ लाखभन्दा बढी मतपत्र छापिसकिएको छ । केन्द्रले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार १ करोड ४२ लाख ८ हजार थान मतपत्र छपाइ सम्पन्न भइसकेको हो ।
पछिल्लो २४ घण्टामै ११ लाख १६ हजार थान मतपत्र छापिएको जनाउँदै केन्द्रले दैनिक छपाइ दर उल्लेख्य रूपमा बढाइएको जानकारी दिएको छ । निर्वाचनका लागि कुल २ करोड ८ लाख ३ हजार थान मतपत्र छाप्नुपर्ने छ ।
मतपत्र छपाइ र प्याकिङको काम पनि सँगसँगै अघि बढाइएको छ । हालसम्म ११ हजार ४ सय ७८ बाकस मतपत्र प्याकिङ भइसकेको छ ।
पछिल्लो २४ घण्टामा मात्र १ हजार २ सय २६ बाकस प्याकिङ गरिएको केन्द्रले जनाएको छ । यसैबीच, निर्वाचन प्रयोजनका लागि छापिएका नमूना मतपत्रहरू पनि निर्वाचन आयोगमा पठाइएको छ ।
केन्द्रका अनुसार १ करोड ९८ हजार २ सय थान नमूना मतपत्र आयोगलाई बुझाइसकिएको छ । आयोगले नमूना मतपत्रलाई निर्वाचन व्यवस्थापन, प्रशिक्षण र मतदाता जानकारीका विभिन्न प्रयोजनमा प्रयोग गर्नेछ ।
तोकिएको समयसीमाभित्र सम्पूर्ण मतपत्र छपाइ र प्याकिङको काम सम्पन्न गर्ने तयारी गरिएको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ ।

























