
काठमाडौँ। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा चुनिएका गगन थापाले पार्टी कार्यालय सानेपा पुगेर पदबहाली गरेका छन्। विशेष महाधिवेशनबाट सभापति निर्वाचित भएको ८ दिनपछि उनी पदभार ग्रहण गर्न शुक्रबार सानेपा पुगेका हुन्।
सानेपा पुग्दा उनलाई कार्यकर्ताहरूले भव्य स्वागत गरेका थिए। थापासँगै नवनिर्वाचित अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरू पनि पार्टी कार्यालय पुगेका छन्। पदबहालीपछि बस्ने केन्द्रीय कार्यसमिति बैठकले थापालाई आगामी निर्वाचनका लागि प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने तयारी समेत गरेको छ।
गत पुस २७ देखि ३० सम्म काठमाडौँमा भएको विशेष महाधिवेशनले थापालाई सभापतिमा निर्विरोध निर्वाचित गरेको थियो। निर्वाचन आयोगले समेत थापा नेतृत्वको समितिलाई आधिकारिकता दिइसकेको छ।

























