
काठमाडौं । नेपालभर हाल पश्चिमी वायु सक्रिय बनेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले देशका पश्चिमी तथा मध्य पहाडी र हिमाली भू–भागको मौसममा परिवर्तन देखिन थालेको छ ।
सुदूरपश्चिम प्रदेशसहित गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रको आकाशमा आज (शनिबार) बिहानैबाट आंशिकदेखि साधारणतया बदली रहेको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । महाशाखाका अनुसार शनिबार दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू–भागमा बदलीको मात्रा बढ्ने अनुमान गरिएको छ ।
यी क्षेत्रका थोरै स्थानमा हल्का वर्षासँगै हिमपात हुन सक्ने सम्भावना रहेको छ । त्यसैगरी गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका १–२ स्थानमा पनि हल्का वर्षा हुन सक्ने प्रक्षेपण गरिएको छ ।
तर, तराई तथा अधिकांश मध्य पहाडी भू–भागमा मौसम आंशिक बदली रहने र उल्लेखनीय वर्षाको सम्भावना न्यून रहने बताइएको छ । राति पनि पश्चिमी वायुको प्रभाव कायमै रहने पूर्वानुमान छ ।
रातिको समयमा देशका पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदलीको अवस्था रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका १–२ स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मौसमविद्हरूका अनुसार यो प्रणाली सक्रिय रहेसम्म अस्थायी असहजता हुन सक्ने भएकाले उच्च पहाडी र हिमाली क्षेत्रका बासिन्दा तथा ती क्षेत्रमा यात्रा गर्नेले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ । यद्यपि, व्यापक वर्षा वा ठूलो प्रणालीको जोखिम भने तत्कालका लागि नरहेको महाशाखाको निष्कर्ष छ।

























