
काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनको तयारीलाई तीव्र बनाउँदै निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फका मतपत्र छपाइ अन्तिम चरणमा पुर्याएको छ ।
आयोगका अनुसार समानुपातिकतर्फ आवश्यक १ करोड ५० लाख मतपत्रमध्ये अधिकांश छपाइ सम्पन्न भइसकेको छ । अब करिब ५० लाख थान मतपत्र छपाइ गर्न बाँकी रहेको छ ।
मतपत्र छपाइको काम यही माघ २ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा सुरु गरिएको थियो । उच्च सुरक्षा मापदण्ड अपनाएर भइरहेको छपाइ कार्य निर्धारित समयमै सम्पन्न गर्ने लक्ष्य रहेको आयोगले जनाएको छ ।
समानुपातिकतर्फको मतपत्र छपाइ सकिनासाथ प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ प्रक्रिया सुरु गर्ने आयोगको तयारी छ । प्रत्यक्षतर्फका उम्मेदवारको अन्तिम नामावली टुंगो लागिसकेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले कुल ३ हजार ४ सय ६ जना उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिसकेको छ । उम्मेदवारहरूलाई शुक्रबार नै निर्वाचन चिन्हसमेत प्रदान गरिएको छ ।
उम्मेदवारले चुनाव चिन्ह प्राप्त गरेसँगै निर्वाचन प्रचारप्रसार औपचारिक रूपमा सुरु भएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उम्मेदवारमध्ये ३ हजार १७ जना पुरुष, ३ सय ८८ जना महिला र ‘अन्य’ समूहबाट १ जना रहेका छन् ।
उम्मेदवारी दर्तादेखि उम्मेदवारी फिर्ता लिने समयसम्मको सम्पूर्ण निर्वाचन कार्यक्रम शान्तिपूर्ण, व्यवस्थित र उत्साहजनक रूपमा सम्पन्न भएको आयोगले जनाएको छ । राजनीतिक दल, उम्मेदवार तथा मतदाताको सक्रिय सहभागिताले निर्वाचनको वातावरणलाई सकारात्मक बनाएको आयोगको मूल्यांकन छ ।
यसैबीच, समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतका उम्मेदवारको नामावली पनि सार्वजनिक भइसकेको छ । अब मतपत्र छपाइ, ढुवानी, सुरक्षा व्यवस्थापन र मतदानस्थल तयारीजस्ता प्राविधिक तथा व्यवस्थापकीय कामलाई अन्तिम रूप दिने चरणमा आयोग पुगेको छ ।

























