
काठमाडौँ । निरन्तरको हिमपातका कारण मध्यपहाडी लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको छ। बाटो बन्द हुँदा काठमाडौँबाट आएका बस र अन्य सवारीसाधन बीचमै रोकिएका छन्।
सवारीसाधन र यात्रु अलपत्र परेपछि इलाका प्रहरी कार्यालय काक्रीबाट प्रहरी टोली उद्धारका लागि खटिएको छ। हिमपात अझै जारी रहेकाले उद्धारमा कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक उमाशङ्करप्रसाद यादवले बताए।
अवरुद्ध सडक खुलाउनका लागि भूमे गाउँपालिकासँग समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी सीता परियारको भनाइ छ। अहिले स्काभेटर लगाएर हिउँ पन्छाउने र यात्रुलाई सुरक्षित स्थानमा पुऱ्याउने काम भइरहेको छ।
गए रातिदेखि भइरहेको हिमपातले जनजीवन कष्टकर बनाए पनि किसानहरू भने खुसी देखिएका छन्। लामो समयको खडेरीपछि वर्षा र हिमपात भएकाले गहुँबालीलाई राहत मिलेको सिस्ने गाउँपालिकाका विमल बिसीले बताए।

























