
झापा । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई सुरक्षित बनाउन जिल्ला प्रशासन कार्यालय झापाले व्यक्तिगत हतियार बुझाउन गरेको आग्रहलाई इजाजतपत्र प्राप्त व्यक्तिहरूले पूर्ण रूपमा बेवास्ता गरेका छन्। फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी प्रशासनले दोस्रोपटक सूचना जारी गर्दा पनि अहिलेसम्म एउटा पनि हतियार बुझाइएको छैन।
प्रशासनको तथ्याङ्कअनुसार झापा जिल्लामा मात्रै १ हजार २३७ वटा हतियार व्यक्तिगत रूपमा दर्ता छन्। निर्वाचनको समयमा सुरक्षा चुनौती बढ्न सक्ने भन्दै प्रशासनले यी हतियार प्रहरी कार्यालयमा बुझाउन ताकेता गरिरहेको छ।
जिल्ला प्रशासन कार्यालयले हतियार बुझाउनका लागि पहिलोपटक पुस २९ गते सूचना जारी गरेको थियो। त्यसपछि माघ ८ गते दोस्रोपटक सूचना जारी गर्दै माघ २० गतेभित्र अनिवार्य रूपमा हतियार बुझाइसक्न सूचित गरिएको छ। प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले यति धेरै ताकेता गर्दा पनि अहिलेसम्म कोही पनि हतियार बुझाउन नआएको बताए। निर्वाचन अवधिभरका लागि सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै हतियार बुझाउनु कानुनी र नैतिक दायित्व भए पनि झापामा यसको पालना शून्य देखिएको छ।
व्यक्तिगत हतियार मात्र होइन, सुरक्षा निकायको आफ्नै हतियार समेत अझै फेला पर्न सकेका छैनन्। केही समयअघि भएको नयाँ पुस्ता अर्थात् जेन्जी आन्दोलनका क्रममा प्रदर्शनकारीले प्रहरीबाट लुटेका १५ थान हतियार अझै गायब रहेको प्रजिअ गेलालले जानकारी दिए। निर्वाचन नजिकिँदै गर्दा यी हराएका हतियारले सुरक्षा निकायलाई थप चिन्तित बनाएको छ। प्रशासनले तोकिएको समयभित्र हतियार नबुझाए कानुनबमोजिम कारबाही हुने चेतावनी दिएको छ।

























