
काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाहीमा तोकिएका मतदानस्थलमध्ये ९२ प्रतिशतभन्दा बढी संवेदनशील सूचीमा परेका छन्। जिल्ला सुरक्षा समितिले कुल ३ सय १२ मतदानस्थलमध्ये १ सय ५८ वटालाई अति संवेदनशील र १ सय ३१ वटालाई संवेदनशील सूचीमा राखेको छ।
२३ वटा मतदानस्थललाई सामान्य सूचीमा राखिएको छ। विशेष गरी नेपाली कांग्रेसका सभापति गगनकुमार थापा उम्मेदवार बनेको सर्लाही क्षेत्र नम्बर ४ सुरक्षाको दृष्टिकोणले बहस र चर्चाको केन्द्रमा छ। यो क्षेत्रका ८१ वटा मतदानस्थल अति संवेदनशील तथा संवेदनशीलको सूचीमा छन्।
यसअघि २०७९ को निर्वाचनमा यस क्षेत्रबाट स्वतन्त्र उम्मेदवारका रूपमा अमरेशकुमार सिंहले जितेका थिए। कांग्रेसबाट टिकट नपाएपछि विद्रोह गरेर जितेका सिंह यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनावी मैदानमा उत्रिएका छन्। गगन थापा र अमरेशकुमार सिंहबीचको प्रतिस्पर्धाले यो क्षेत्रलाई थप रोचक र चुनौतीपूर्ण बनाएको छ।
जिल्ला सुरक्षा समितिले भौगोलिक विकटता, नेपाल–भारत खुला सीमाको निकटता, विगतका निर्वाचनमा दलहरूबीच भएका झडप र सम्भावित आपराधिक क्रियाकलापलाई आधार मानेर मतदानस्थलको वर्गीकरण गरेको हो। प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले अति संवेदनशील र संवेदनशील मानिएका स्थलहरूलाई विशेष सुरक्षा घेरामा राखिने बताए। उनले मतदाताहरूले भयरहित वातावरणमा मतदान गर्न पाउने गरी सुरक्षा योजना तयार पारिएको जानकारी दिए। यसपटक जिल्लाभर ३ सय १२ मतदानस्थलमा ६ सय २८ मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

























