मदरल्याण्डमा भजन कीर्तन उत्सव : जोगाउँदै संस्कार र जोड्दै पुस्ता, उज्यालो बनाउँदै समाज

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १०, शनिबार १४:०९

विराटनगर । नेपाली समाजको आत्मा मानिने मौलिक कला, संस्कृति र अध्यात्मलाई जीवन्त राख्ने उद्देश्यसहित विराटनगर महानगरपालिका–४ स्थित मदरल्याण्ड एकेडेमी स्कुलले आयोजना गरेको ‘भजन कीर्तन प्रतियोगिता, २०८२’ एउटा सांस्कृतिक कार्यक्रममा मात्रै सीमित रहेन ।

यो एउटा उत्सव मात्रै नभएर समाज, शिक्षा र पुस्ताबीचको सम्बन्धलाई जोड्ने एउटा प्रभावशाली अभियानका रूपमा स्थापित भएको छ । सरस्वती पूजाको अवसर पारेर प्रत्येक वर्ष निरन्तर हुँदै आएको भजन कीर्तन प्रतियोगिता यसवर्ष अझ व्यवस्थित, फराकिलो र अर्थपूर्ण ढंगले सम्पन्न भएको छ ।

Advertisement

मदरल्याण्डको भजन कीर्तन उत्सवले पुरानो संस्कार संस्कृति जोगाउन मद्धत त गरेकै छ । पुस्तालाई जोड्दै समाजलाई उज्यालो बनाउने भूमिका पनि खेलिरहेको छ ।

विद्यालयका प्रिन्सिपल मोहन बुढाथोकीका अनुसार मदरल्याण्ड एकेडेमीले स्थापना कालदेखि नै विद्यार्थीमा अनुशासन, करुणा, नैतिकता, संस्कार, संस्कृति र कला–चेतनाको विकास गराउने उद्देश्यले भजन कीर्तन कार्यक्रमलाई शैक्षिक अभ्यासकै रूपमा अंगीकार गर्दै आएको छ । ‘शिक्षा पाठ्यपुस्तक र परीक्षामा मात्रै सीमित हुनु हुँदैन । संस्कार र चेतनाको विकास बिना शिक्षा अपूरो हुन्छ,’ भन्ने मान्यताका साथ सुरु गरिएको कार्यक्रम समयक्रममा विद्यालयको दायरा पार गर्दै समुदाय र नगरस्तरसम्म फैलिएको हो ।

सुरुवाती दिनमा स्कुल परिसरमै सीमित भजन कीर्तन कार्यक्रम समाजमा बढ्दै गएको विकृति, मूल्य–ह्रास र सांस्कृतिक विचलनप्रति चिन्ताबाट प्रेरित भएर प्रतियोगिताको रूप लिएको थियो । समाजले आफ्नै जरा बिर्सँदै गएको अवस्थामा मौलिक परम्परालाई संरक्षण, सम्प्रवर्धन र हस्तान्तरण गर्नुपर्ने आवश्यकता महसुस गर्दै २०७९ सालदेखि यसलाई नगरस्तरीय प्रतियोगिताका रूपमा सञ्चालन गर्न थालिएको प्रिन्सिपल बुढाथोकी बताउँछन् ।

पछिल्ला २–३ वर्षयता विराटनगर मात्र नभएर मोरङ र सुनसरीका विभिन्न स्थानबाट समेत भजन कीर्तन मण्डलीहरूको उत्साहजनक सहभागिता हुन थालेको छ । जसले यसको सामाजिक स्वीकार्यता र महत्व झन् स्पष्ट पारेको छ ।

यसवर्ष शुक्रबार आयोजित प्रतियोगितामा ४७ वटा भजन कीर्तन मण्डलीको सहभागिता रहनु आफैंमा ठूलो उपलब्धि भएको बुढाथोकी बतउँछन् । आयोजकका अनुसार, सहभागी टोलीहरूले पुरस्कारभन्दा पनि भजन कीर्तनमार्फत समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यलाई प्राथमिकता दिएका छन् ।

यही भावनालाई सम्मान गर्दै गतवर्षको तुलनामा यसवर्ष पुरस्कार राशि वृद्धि गरिएको र आगामी दिनमा क्रमशः बढाउँदै प्रथम पुरस्कार १ लाख रुपैयाँसम्म पुर्‍याउने लक्ष्य लिइएको जानकारी प्रिन्सिपल बुढाथोकीले दिए । प्रतियोगिताको दीर्घकालीन स्थायित्व सुनिश्चित गर्न ५० हजार रुपैयाँ बराबरको अक्षयकोष स्थापना गर्ने निर्णय पनि गरिएको छ । जसलाई भविष्यमा थप विस्तार गर्दै लैजाने योजना स्कुलको रहेको छ ।

कार्यक्रमको समापन तथा पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले नेपाली समाजमा भजन कीर्तनको ऐतिहासिक, सांस्कृतिक र आध्यात्मिक महत्वमाथि प्रकाश पार्दै यस्ता कार्यक्रमहरूले नयाँ पुस्तालाई आफ्नै संस्कार र पहिचानसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले भजन कीर्तन धार्मिक कर्मकाण्ड मात्रै नभएर समाजलाई संयम, सहअस्तित्व र सकारात्मक सोचतर्फ उन्मुख गराउने शक्तिशाली माध्यम भएको बताए ।

प्रतियोगिताको निष्पक्ष र गुणस्तरीय मूल्यांकनका लागि ५ जना विज्ञहरू सम्मिलित निर्णायक मण्डल गठन गरिएको थियो । प्रतिस्पर्धामा विराटनगर पोखरियाको रामजानकी आमा समूह प्रथम हुँदै २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्न सफल भयो ।

त्यसैगरी, विराटनगर बरगाछीको लक्ष्मी नारायण भजन कीर्तन मण्डलीले द्वितीय हुँदै २० हजार र विराटनगर गणेश चोकको अच्युतम भजन कीर्तन टोलीले तृतीय हुँदै १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । विजेता टोलीहरूलाई नगद पुरस्कारसँगै शिल्ड र प्रमाणपत्र पनि प्रदान गरियो ।

प्रतियोगितामा सहभागी अन्य ४४ वटा टोलीलाई पनि उनीहरूको साधना, कला र योगदानको कदर गर्दै जनही ३ हजार ५ सय रुपैयाँ सान्त्वना पुरस्कार प्रदान गरिएको छ । मदरल्याण्ड एकेडेमीले आयोजना गर्दै आएको भजन कीर्तन प्रतियोगितालाई एउटा विद्यालयीय कार्यक्रम मात्र नभएर समाजलाई आफ्नो मौलिकतासँग जोड्ने प्रयासका रूपमा हेरिएको छ ।

आधुनिकताका नाममा हराउँदै गइरहेका संस्कार, संस्कृति, संगीत र सामूहिक साधनालाई पुनर्जीवित गर्दै यो कार्यक्रमले शिक्षा र समाजबीच सेतुको काम गरिरहेको छ । भजन कीर्तनमार्फत प्रवाह हुने शान्ति, सहिष्णुता, नैतिकता र सांस्कृतिक चेतनाको सन्देश आजको पुस्तासँगै सम्पूर्ण समाजका लागि उत्तिकै आवश्यक छ भन्ने सन्देश प्रतियोगिताले स्थापित गरेको मन्त्री पराजुलीले बताए ।

तपाइको प्रतिक्रिया
सुनसरीमा तनाव मत्थर : कर्फ्यु यथावत्, सुरक्षा कडा
महिला कबड्डी टोलीले भारत जाँदै 
महिला कबड्डी टोलीले भारत जाँदै 
कप्तानगन्जमा गोली लागेर ज्यान गुमाएका ओमप्रकाशको शव अस्पतालमै, यस्तो छ परिवारको अडान
कोशी प्रदेशमा खेल प्रशिक्षक झापामा बाक्लो उपस्थिति, ७ जिल्ला  ‘नील’
कोशी प्रदेशमा खेल प्रशिक्षक झापामा बाक्लो उपस्थिति, ७ जिल्ला  ‘नील’
चलचित्र ‘पञ्चमी’ को औपचारिक घोषणा
सुनसरी घटनाबारे मन्त्रिपरिषद्मा भएन छलफल, प्रश्नबाट पन्छिए सरकारका प्रवक्ता
सुनसरी घटना छानबिन समितिमा २ सदस्य थपिए
सामाजिक सद्भाव र एकता कायम राख्न उपराष्ट्रपतिको अपिल
सामाजिक सद्भाव र एकता कायम राख्न उपराष्ट्रपतिको अपिल
सभामुख अर्यालद्वारा प्रधानमन्त्रीसहित विभिन्न दलका नेताहरूसँग भेटवार्ता
जापानमा ७.१ म्याग्निच्युडको भूकम्प, कम्तीमा १३ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×