
विराटनगरको मेरुदण्ड मानिने कोशी राजमार्ग अहिले सडक नभएर धराप जस्तो बनेको छ। सीमा क्षेत्र जोगबनीबाट रोडशेष चोक हुँदै उत्तरतर्फ बरगाछीसम्मका विभिन्न खण्डमा कालोपत्रे सडक नराम्ररी भासिएको छ। मुख्य व्यापारिक मार्ग र प्रदेश राजधानीको मुख्य सडक नै यसरी क्षतविक्षत हुँदा पनि सम्बन्धित निकाय मौन बस्नुले नागरिकको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ।
विशेषगरी जोगबनीबाट भित्रिएपछि रोडशेष चोकसम्म पुग्दा ठाउँ–ठाउँमा सडक भासिएको छ । केही क्षेत्रमा त खाल्डाखुल्डी नै पनि बनेका छन्। त्यहाँबाट महेन्द्र चोक र बरगाछी खण्डको अवस्था पनि उस्तै निराशाजनक छ। बरगाछीभन्दा उत्तरतिरको सडकमा समेत ठूला–ठूला खाल्डा र भासिएका भागहरूले गर्दा सवारी साधन गुडाउन निकै कठिन भएको छ।
६ लेनको फराकिलो सडक भनेर चिनिने यो मार्गमा अहिले सवारी चालकहरूले ज्यान जोगाउन कसरत गर्नुपर्ने अवस्था छ। भासिएर कतै डिल जस्तो अनि कतै होचो भएकाले खासगरी सवारी साधन घुमाउने क्रममा अनियन्त्रित भइ दुर्घटना हुने क्रम बढेको छ । बरगाछी, कन्चनबारी, रोडशेष चोक जस्ता क्षेत्रमा पछिल्लो समय दुर्घटना अत्यधिक बढेको छ ।
सडकको भौतिक अवस्था मात्र होइन, ट्राफिक व्यवस्थापनका आधारभूत पूर्वाधारहरू पनि अस्तव्यस्त छन्। सडकका कतिपय स्थानमा जेब्राक्रसको रङ खुइलिसकेको छ, जसले गर्दा पैदल यात्रीलाई बाटो काट्न सास्ती भएको छ। त्यस्तै, जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त बनेका अधिकांश ट्राफिक लाइटहरू अहिलेसम्म मर्मत गरिएका छैनन्। यी लाइटहरू सञ्चालनमा नआउँदा सवारी चालकहरू अलमलमा पर्ने गरेका छन् भने यसले समग्र ट्राफिक व्यवस्थापनमै प्रतिकूल असर पुर्याएको छ।
सडकलाई थप कुरूप र अस्तव्यस्त बनाउने अर्को कारण सिटी सफारीहरूको जथाभावी पार्किङ पनि हो। मुख्य चोक र सडकका किनारमै सफारीहरू जथाभावी रोक्ने प्रवृत्तिका कारण आवागमन निकै कठिन हुने गरेको छ। एकातिर सडक भासिएर जोखिम छ, अर्कोतिर अव्यवस्थित पार्किङ र बिग्रिएका ट्राफिक लाइटले सडकलाई थप जोखिमपूर्ण बनाएका छन्।
यही बाटो भएर दैनिक हजारौँ साना–ठूला सवारी साधन र पैदल यात्रीहरू ओहोरदोहोर गर्छन्। सडककै दुरावस्थाका कारण सवारी साधन अनियन्त्रित भई दुर्घटना हुने क्रम ह्वात्तै बढेको छ। यस्तो व्यस्त सडकको दुरावस्थाले विराटनगरको छवि मात्र बिगारेको छैन, सर्वसाधारणको ज्यानलाई समेत जोखिममा पारेको छ। ठूलो मानवीय क्षति हुनुअगावै सडक मर्मत गर्ने, ट्राफिक लाइट सञ्चालनमा ल्याउने र पार्किङलाई व्यवस्थित बनाउनु स्थानीय प्रशासन र सडक डिभिजनको अनिवार्य दायित्व हो।

























