सुनसरी–१ मा पञ्चकोणीय प्रतिस्पर्धा

Share this
666shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १५, बिहीबार ०६:३७

सुनसरी । लामो समयसम्म ‘लट्ठी उभ्याए पनि जित्ने’ भनिँदै आएको सुनसरी–१ मा यसपटकको चुनाव नेकपा (एमाले)का लागि प्रतिस्पर्धा नभएर प्रतिष्ठाको लडाइँ बनेको छ ।

आगामी प्रतिनिधिसभा चुनावका लागि एमालेले ४० वर्षीय टीका माङलेनलाई उम्मेदवार बनाएपछि पार्टी संगठन पूरै शक्ति लगाएर मैदानमा उत्रिएको छ । इतिहास, संगठन र संख्यात्मक बलका आधारमा आफैँलाई स्वाभाविक दाबेदार ठान्दै आएको एमाले यस क्षेत्रको विगत फर्काउने दाउमा छ ।

तर, परिस्थिति पहिलेको जस्तो सरल छैन । सुनसरी–१ को धरान केन्द्रित राजनीतिमा हर्क साम्पाङ (हर्कराज राई), बालेन शाह (बालेन्द्र) र नयाँ दलहरूको उदयले पुराना गणित उल्ट्याइदिने सम्भावना छ ।

यो क्षेत्रको संसदीय इतिहास एमालेका लागि सधैँ अनुकूल रहँदै आएको थियो । पञ्चायतकालदेखि नै कम्युनिष्ट धारका उम्मेदवारहरू हाबी भइरहे । २०४८ सालमा मनमोहन अधिकारीले यही क्षेत्रबाट जित्दै पहिलो कम्युनिष्ट प्रधानमन्त्री बन्ने बाटो खोले ।

२०५१ को मध्यावधिमा लीला श्रेष्ठ सुब्बा मेन्याङ्बो, २०५६ मा कुन्ता शर्मा, २०७० मा कृष्णकुमार राई र २०७४ मा जयकुमार राईले एमालेबाटै जिते । २०७९ मा एमालेको समर्थनमा जनता समाजवादी पार्टी (जसपा)का अशोक राई विजयी भए ।

यसबीच २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा मात्र माओवादीले अपवादस्वरूप जित निकालेको थियो । कांग्रेसले भने आजसम्म संसदीय चुनाव जित्न सकेको छैन ।

यही पृष्ठभूमिले एमाले कार्यकर्तामा आत्मविश्वास र एक हिसाबको स्वामित्व भाव पनि निर्माण गरेको थियो । तर, स्थानीय तहको पछिल्ला नतिजाले त्यो विश्वासमा गहिरो दरार उत्पन्न गराएको छ ।

२०७६ सालमा धरान उपमहानगरपालिकाको उपनिर्वाचनमा नेपाली कांग्रेसका तिलक राईले एमाले उम्मेदवारलाई हराउँदै इतिहास रचे । २०७९ मा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले मेयर जित्दा त्यो झड्का अझ ठूलो बन्यो ।

लगत्तै सम्पन्न प्रतिनिधिसभा चुनावमा एमालेले क्षेत्र नै जसपालाई छाड्यो । एमालेको समर्थनमा अशोक राईले जिते । स्थानीय तहको निर्वाचनमा लगातार बिग्रँदो परिणामका कारण एमालेले यसपटकको प्रतिनिधिसभा चुनावलाई ‘कमब्याक’को अवसर मानेको छ ।

तर, एमालेका उम्मेदवार टीका माङलेन जनस्तरमा त्यति परिचित छैनन् । संगठन बलियो भए पनि उम्मेदवार चिनाउने चुनौती ठूलो छ । कतिपय स्थानीय बुद्धिजीवी एमालेको संरचनागत पकडका कारण अन्ततः जित निस्कने अनुमान गर्छन् ।

तर, राजनीतिक विश्लेषक डा. राजेन्द्र शर्मा यस्तो आशावादसँग सहमत छैनन् । उनका अनुसार २०७९ को चुनावमै, हर्क साम्पाङको पार्टी नजन्मिँदै र बालेन शाह राष्ट्रिय राजनीतिमा नआउँदै, रास्वपा (राष्ट्रिय स्वतन्त्र पार्टी)की गोमा तामाङ ‘सरिन’ ले एमाले समर्थित उम्मेदवारलाई कडा चुनौती दिएकी थिइन् । अहिले रास्वपामा बालेनको सक्रिय उपस्थितिले सरिनको दाबी अझ बलियो बनेको शर्माको विश्लेषण छ ।

सुनसरीको क्षेत्र नम्बर १ मा धरान केन्द्रित राजनीति हाबी छ । धरानको सहरी मतदाता परम्परागत दलभन्दा फरक विकल्प खोजिरहेको देखिन्छ । यही खाली ठाउँमा हर्क साम्पाङको श्रम संस्कृति पार्टी लोकप्रिय बन्दै गएको छ ।

श्रमदान अभियान, सिधा र कडा अभिव्यक्ति, सामाजिक सञ्जालमार्फत जनतासँग प्रत्यक्ष संवाद गर्ने शैलीले हर्कले विशेषगरी युवा र ‘स्वीङ’ मतदाता आकर्षित गरेका छन् । उनका समर्थकहरू उनलाई कडा नेता र व्यवस्था विरोधी प्रतीकका रूपमा हेर्छन् । कार्यकर्ताद्वारा पुराना नेताहरूको देवत्वकरण जस्तै हर्कका समर्थक पनि उनको प्रतिरक्षामा उभिने गरेको दृश्य धरानमा सामान्य भइसकेको छ ।

यद्यपि, यो चुनाव हर्कका लागि पनि सजिलो छैन । २०७९ मा जम्मा ४ सय ५३ मतले पराजित भएकी रास्वपाकी गोमा तामाङ ‘सरिन’ यसपटक बलियो चुनौतीका रूपमा उभिएकी छन् । कोरोना कालपछि धरानमै बसेर सामाजिक काममा सक्रिय रहेकी सरिनले अघिल्लो चुनावमा परिचय र संगठन कमजोर हुँदाहुँदै पनि उल्लेख्य मत पाएकी थिइन् । अहिले पार्टी संरचना, राष्ट्रिय पहिचान र एजेन्डासहित मैदानमा उत्रदा उनको सम्भावना बढेको मानिन्छ ।

प्रतिस्पर्धा यही २ वा ३ पात्रमा सीमित छैन । नयाँ संगठनात्मक स्वरूपमा आएको नेकपा (नेपाली कम्युनिष्ट पार्टी)ले सूर्यबहादुर भट्टराई ‘मनोज’लाई उम्मेदवार बनाएको छ । धरान–१७ बाट २ पटक वडाध्यक्ष जितेका मनोज सुकुम्बासी क्षेत्रमा प्रभावशाली मानिन्छन् ।

कार्यपालिका बैठकमा हर्क साम्पाङसँग बारम्बार हुने वादविवादका कारण उनलाई हर्कविरुद्धको ‘काउन्टर’का रूपमा पनि हेरिएको छ । खानेपानी, ल्याण्डफिल साइट र आधारभूत पूर्वाधारलाई मुख्य एजेन्डा बनाएका मनोजले सबै उम्मेदवारलाई नजिकका प्रतिद्वन्द्वी ठान्दै आएका छन् ।

कांग्रेसले यसपटक क्षेत्रीय सभापति सुजेन्द्र तामाङलाई अघि सारेको छ । २ दशकभन्दा बढी समय बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रशासनिक सेवामा रहेका तामाङ आदिवासी जनजाति आन्दोलनमा पनि सक्रिय थिए ।

कांग्रेसको कमजोर संसदीय इतिहास तोड्ने आशामा उनी आदिवासी जनजाति मतदातामा भरोसा गरिरहेका छन् । खानेपानी, सडक, शिक्षा, स्वास्थ्य र रोजगारी उनका मुख्य मुद्दा हुन् ।

यसबाहेक पहिचानवादी धारका डम्बर लावती ‘जेन्टल’ उज्यालो नेपाल पार्टीबाट उम्मेदवार बनेका छन् । कुल १९ दल र ७ स्वतन्त्र गरी २६ उम्मेदवार प्रतिस्पर्धामा रहे पनि व्यवहारतः मुख्य ५ दलबीच पञ्चकोणीय भिडन्त हुने देखिन्छ ।

धरान उपमहानगरपालिका, बराहक्षेत्र नगरपालिकाका १ देखि ५ सम्मका वडा, रामधुनीका ६ र ८ नम्बर वडा समेटिएको सुनसरी–१ मा १ लाख ५० हजारभन्दा बढी मतदाता छन् । पञ्चायतकालदेखि अनेक द्वन्द्व झेलेको यो क्षेत्र हाल पुरानो पहिचान र नयाँ राजनीतिक चेतनाको संगमस्थल बनेको छ । सुनसरी–१ मा एमालेको ऐतिहासिक विरासत जोगिन्छ कि हर्क–बालेनको प्रभावले नयाँ अध्याय लेख्छ भन्ने कुराको फैसला आगामी फागुन २१ गते हुनेछ ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×