
काठमाडौँ । कारागारबाट फरार भएका ‘डार्क फाइल नेपाल’ अभियानका सञ्चालक राजकुमार तिमल्सिनालाई पुनः कारागार पठाइने भएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पोखराबाट पक्राउ गरी काठमाडौं ल्याएको हो ।
ललितपुर गोदावरी स्थायी घर भएका तिमल्सिनालाई अब बाँकी कैद भुक्तानका लागि कारागार पठाउने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ । तिमल्सिनाले ‘डार्क फाइल’ भन्दै सार्वजनिक गरेको एक अडियो सामग्री गलत पुष्टि भएपछि अदालतले उनलाई अदालतको अवहेलना मुद्दामा ६ महिना कैदको फैसला सुनाएको थियो । उक्त फैसलापछि उनलाई कारागार पठाइएको थियो ।
अदालतको आदेश अनुसार ५१ दिन कैद भुक्तान गरिसकेका तिमल्सिना गत भदौ २४ गते ‘जेनजी आन्दोलन’को समयमा कारागारबाट भाग्न सफल भएका थिए । कारागारबाट फरार भएपछि उनी सामाजिक सञ्जालमा सक्रिय रहँदै आएका थिए ।
फरार रहेकै अवस्थामा तिमल्सिनाले सामाजिक सञ्जालमार्फत विभिन्न भिडियो र पोस्टहरू गर्दै न्यायाधीशहरूमाथि निरन्तर धम्की दिँदै आएका थिए। सुरक्षा चुनौती बढेपछि प्रहरीले उनको खोजी कार्यलाई तीव्र बनाएको थियो । अन्ततः उनलाई कास्कीको पोखरामा लुकिछिपी बसिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

























