
विराटनगर । मध्यरातको करिब सवा १ बजे । सुनसरीको कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साह आफ्नो सिटी सफारीमा भारतबाट ६–७ बोरा चिनी, सरफ र चकलेट लिएर घरतर्फ आउँदै थिए । घर नजिकै आइपुग्दा अचानक गोली चल्यो । सफारी चलाइरहेकै अवस्थामा साहको छातीमा सशस्त्र प्रहरीले चलाएको गोली लाग्यो र उनको घटनास्थलमै मृत्यु भयो ।
अहिले यो घटनाले सुनसरीको लौकही क्षेत्र रणमैदान बनेको छ । घटनालाई लिएर सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको दाबी पूर्ण रूपमा बाझिएको छ ।
सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रमुख डीआईजी कुमार न्यौपाने यो घटनालाई ‘दोहोरो भिडन्त’को रूप दिन्छन्। उनका अनुसार सामान तस्करी गरेर ल्याउँदै गरेको समूहलाई रोक्न खोज्दा उल्टै सुरक्षाकर्मीमाथि फायर भएको थियो। ‘हामीले रोक्न खोज्दा रोकिएनन्, अगाडि भागेको गाडीबाट फायर भएपछि सशस्त्रले जवाफी फायरिङ गरेको हो,’ डीआईजी न्यौपानेले भने ।
स्थानीय बासिन्दा भने सशस्त्रको दाबीलाई स्विकार्न तयार छैनन् । उनीहरूका अनुसार यो दोहोरो भिडन्त नभएर सिधा हत्या हो । ‘प्रहरीले पैसा मागेको थियो, मागेजति पैसा दिन नसक्ने भएपछि गोली प्रहार गरियो,’ आक्रोशित एक स्थानीयले भने, ‘दुई गोली हानिएको छ, त्यहाँ कुनै झडप भएको थिएन ।’ घटनास्थलको प्रकृति र साहको सफारीमा भेटिएका सामान्य घरायसी सामग्री (चिनी, चकलेट) ले पनि प्रहरीको ‘ठुलो तस्कर समूह’ सँगको भिडन्तको दाबीमा प्रश्न उठाएको छ’।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी चन्द्र खड्काले घटनास्थलबाट दुई राउण्ड गोलीका खोका फेला परेको पुष्टि गरेका छन्। मृतकको शरीरमा पनि दुई वटा गोलीका दाग देखिएका छन्। तर, दोहोरो भिडन्त भएको थियो वा थिएन भन्ने विषयमा नेपाल प्रहरी अझै निष्कर्षमा पुगिसकेको छैन। ‘भिडन्त भएको भन्ने कुरा छ, तर हामी अनुसन्धानकै क्रममा छौँ,’ डिएसपी खड्काले बताए।
घटनापछि आक्रोशित स्थानीयले बिहीबार बिहानैदेखि पूर्व-पश्चिम राजमार्गको लौकही खण्ड ठप्प पारेका छन् । साहले चलाएको सिटी सफारी र उनको शवलाई सडकमै राखेर दोषीलाई कारबाहीको माग गर्दै नाराबाजी भइरहेको छ । प्रदर्शनका कारण सयौँ सवारी साधन बीच बाटोमै रोकिएका छन् भने लौकही क्षेत्र तनावग्रस्त बनेको छ ।

























