
विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा जनप्रतिनिधिबीचको शक्ति संघर्षले उग्र रूप लिएको छ । अध्यक्ष नमोनारायण माझी र उपाध्यक्ष गुणवतीदेवी थारु पक्षबीचको विवादका कारण बिहीबार पालिका कार्यालय परिसर दिनभर तनावग्रस्त बन्यो ।
अध्यक्ष माझीले एकलौटी ढंगले काम गरेको आरोप लगाउँदै उपाध्यक्ष थारुले बुधबार पालिकाको लेखा शाखामा तालाबन्दी गरेकी थिइन् । उक्त ताला खोल्न माग गर्दै पुगेका अध्यक्षका समर्थक र स्थानीयले बिहीबार जबर्जस्ती ताला फुटाएपछि स्थिति नियन्त्रण बाहिर गएको हो। ताला फुटाउने क्रममा दुई पक्षबीच भनाभन र हातहालाहाल समेत भएको थियो ।
उपाध्यक्ष गुणवतीदेवी थारुले अध्यक्ष माझीले गाउँसभा एकलौटी रूपमा सम्पन्न गरेको र बजेट किताबमा आफ्नो अस्तित्व नै स्वीकार नगरेको आरोप लगाएकी छन् । ‘बजेट पुस्तिकामा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको मात्र मन्तव्य राखिएको छ, उपाध्यक्षको मन्तव्य किन हटाइयो ?’ उनले प्रश्न गरिन् ।
यता, गत मंसिरको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित अध्यक्ष माझीले भने आफूलाई एमालेको बहुमत रहेको कार्यपालिकामा घेराबन्दी गरिएको बताएका छन् । उनले काम गर्न नदिने नियतले उपाध्यक्ष र एमाले निकटका जनप्रतिनिधिले पटक-पटक अवरोध सिर्जना गरेको गुनासो गरे ।
यी दुई जनप्रतिनिधिबीचको विवाद कार्यालयभित्र मात्र सीमित छैन। यसअघि गत पुस ९ गते विराटनगरको मुख्य सडकमा अध्यक्षले प्रयोग गरिरहेको गाडीको साँचो उपाध्यक्ष थारुले खोसेपछि सार्वजनिक रूपमै बाझाबाझ भएको थियो । बिहीबार ताला फुटाउन पुगेका प्रदर्शनकारीहरूले आफूहरू कुनै राजनीतिक कार्यकर्ता नभई पालिकाको सेवा ठप्प हुँदा मर्कामा परेका स्थानीय भएको दावी गरेका छन् । स्थिति थप बिग्रन नदिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।
जनप्रतिनिधिहरूको व्यक्तिगत र राजनीतिक टकरावले गर्दा ग्रामथानको प्रशासनिक र विकास निर्माणका कार्यहरू नराम्ररी प्रभावित भएका छन् ।

























