
काठमाडौं । गुल्मीको मालिका गाउँपालिका–६ राम्चेमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। पिकनिक जाँदै गरेको विद्यालयको बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार देवर र भाउजूको ज्यान गएको हो।
मृत्यु हुनेमा मालिका गाउँपालिका–६ का ३६ वर्षीय बसन्त अर्याल र उनकी भाउजू ५६ वर्षीया मनकला अर्याल रहेका छन्। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुका अनुसार दुर्घटना लगत्तै उनीहरूलाई उद्धार गरी गुल्मी अस्पताल पुर्याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
शुक्रबार बिहान मालिका–६ को राम्चेस्थित भित्री कच्ची सडक खण्डमा पोखराबारीबाट राम्चेतर्फ जाँदै गरेको लु ९ प ८१५० नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको लुम्बिनी प्रदेश ०० ख ०३५५ नम्बरको बसले ठक्कर दिएको थियो। ठक्कर दिने बस सिद्ध इङ्लिस बोर्डिङ स्कूलका विद्यार्थी र शिक्षकहरूलाई लिएर मदाने गाउँपालिकाको पुर्कोटतर्फ पिकनिकका लागि जाँदै थियो।
दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्। प्रहरीले दुर्घटनामा संलग्न बस र त्यसका चालक धुर्कोट गाउँपालिका–४ जैसिथोक निवासी ४१ वर्षीय चुरा बहादुर थापालाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

























