
विराटनगर । मोरङको रतुवामाई नगरपालिका–१ का ३५ वर्षीय ढेना भनिने मंगल हेमरामको शव बक्राहा खोला किनारमा फेला परेको छ ।
सुनवर्षी नगरपालिका–७ सतार टोलनजिकै बक्राहा खोला किनारमा शुक्रबार दिउँसो पौने २ बजेतिर उनको शव फेला परेको प्रहरीले जनाएको छ । खोला किनारमा उत्तानो परेको अवस्थामा बेवारिसे शव फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
मृत फेला परेका पुरुष हेमराम भएको पछि पत्ता लागेको हो । इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर नरेन्द्रकुमार बोगटी नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पतालमा पठाएको छ ।
उनको मृत्युको कारण खुल्न सकेको छैन । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनकी पत्नी वैदेशिक रोजागारीका लागि कुवेत गएकी थिइन् । उनका २ छोरा र २ छोरी गरेर ४ जना सन्तान रहेको प्रहरीले जनाएको छ ।
हेमराम शुक्रबार राति घरबाट निस्किएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । खोला तर्ने क्रममा उनलाई बगाएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

























