
विराटनगर । झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा बुद्ध एयरको जहाज अवतरणका क्रममा दुर्घटनामा परेको छ ।
काठमाडौंबाट ५१ जना यात्रु र ४ जना चालक दलका सदस्यसहित उडेको बुद्ध एयरको ‘बुद्ध ९०१’ जहाज शुक्रबार राति ९:१० बजे अवतरणका क्रममा दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार काठमाडौंबाट राति ८:२३ बजे उडेको उक्त जहाज भद्रपुर नगरपालिका वडा नं. ८ स्थित विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गको पूर्वतर्फ (रन-वे ओभर रन) ३०० मिटर बाहिर पुगेर भासिएको छ ।
जहाज क्षतिग्रस्त अवस्थामा रहेको छ। दुर्घटनालगत्तै जहाजमा सवार सबै ५१ जना यात्रु र ४ जना चालक दलका सदस्यहरूलाई सकुशल बाहिर निकालिएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बुको नेतृत्वमा ७० जनाको प्रहरी टोली खटिएर उद्धार र व्यवस्थापनको कार्य गरिरहेको छ ।
काठमाडौंबाट उडेको ४७ मिनेटपछि अवतरण गर्ने क्रममा यो घटना भएको हो । घटनाको थप विवरण आउन बाँकी छ ।

























