
विराटनगर । बुद्ध एयरको जहाज दुर्घटनापछि ठप्प बनेको भद्रपुर विमानस्थल आज बिहान १० बजेदेखि पुनः सञ्चालनमा आएको छ। हुस्सु हटेर भिजिबिलिटी स्पष्ट भएसँगै विमानस्थलमा उडान र अवतरण सुचारु भएको विमानस्थल प्रमुख किशोरकुमार खत्रीले जानकारी दिए। उनका अनुसार अहिले विमानस्थलको अवस्था सामान्य रहेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का निमित्त महानिर्देशक देवचन्द्रलाल कर्णको नेतृत्वमा रहेको उच्चस्तरीय प्राविधिक टोली आवश्यक उपकरणसहित भद्रपुर अवतरण गरिसकेको छ। प्राविधिक टोली बोकेको जहाज नै विमानस्थल खुलेपछि आज अवतरण गर्ने पहिलो विमान बनेको थियो।
टोलीले रनवेबाट बाहिर गएको बुद्ध एयरको जहाजको प्राविधिक अध्ययन र मर्मतको काम सुरु गरिसकेको छ। जहाजलाई सुरक्षित रूपमा व्यवस्थापन गर्न र घटनाको विस्तृत छानबिनका लागि प्राविधिकहरू खटिएका छन्।

























