
काठमाडौं । शनिबारदेखि देशभरका तालतलैया, नदी र सिमसार क्षेत्रमा जलपन्छीको गणना सुरु भएको छ। हरेक वर्ष जनवरी महिनाको पहिलो शनिबारदेखि सुरु गरिने यो गणना यस वर्ष पुस १९ देखि माघ ४ (जनवरी ३ देखि १८) सम्म चल्नेछ। चौतर्फी सङ्कटका बीच पानी र सिमसारमा आश्रित चराहरूको अवस्था पत्ता लगाउन मध्य हिउँदको समय रोजिएको हो।
वेटल्याण्ड इन्टरनेशनलको संयोजन र नेपाल पन्छीविद् सङ्घको समन्वयमा सुरु भएको यस अभियानमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र पन्छी संरक्षण सङ्घ (बीसीएन) ले सहयोग गरेका छन्। गणनामा देशभरका ४ सयभन्दा बढी चराविद्, नेचर गाइड, वाइल्डलाइफ फोटोग्राफर र स्वयंसेवकहरू सहभागी छन्। उनीहरूले चराको सङ्ख्या अद्यावधिक गर्नुका साथै संरक्षणमा स्थानीय समुदायलाई सहभागी गराएर जनचेतना फैलाउने काम गर्नेछन्।
पूर्वको कोसी टप्पुदेखि पश्चिमको शुक्लाफाँटासम्म र तराईको जगदीशपुर पन्छी आरक्षदेखि उत्तरको रारा तालसम्मका १८ प्रमुख सिमसार क्षेत्रका ८० भन्दा बढी स्थानमा गणना गरिनेछ। हरेक क्षेत्रका लागि छुट्टाछुट्टै संयोजक तोकिएको छ। चितवनमा पुस २४ र २५ गते तीन भागमा विभाजन गरेर गणना गरिने कार्यक्रम छ भने पोखराका ११ स्थानसहित धनुषाधाम, हेटौँडा र नवलपुरका सिमसार क्षेत्रलाई पनि यसमा समेटिएको छ।

























