
विराटनगर । भद्रपुर विमानस्थलमा शुक्रबार राति भएको बुद्ध एयरको जहाज दुर्घटनापछि रनवे छोट्याएर विमानस्थल पुनः सञ्चालनमा ल्याइएको छ ।
काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको एटीआर–७२ जहाज अवतरणका क्रममा रनवे पार गर्दै पूर्वतर्फ करिब ३ सय मिटर अगाडि पुगेर दुर्घटनामा परेको थियो । उक्त घटनाले केही समय विमानस्थलको नियमित सञ्चालन प्रभावित भए पनि आवश्यक प्राविधिक व्यवस्थापनपछि हाल विमान आवतजावत सुचारु गरिएको विमानस्थल प्रशासनले जनाएको छ ।
विमानस्थल प्रमुख किशोरकुमार खत्रीका अनुसार दुर्घटनाग्रस्त जहाजको पछाडिको भाग रनवे बाहिर ‘अफ–ट्रयाक’ क्षेत्रमा अड्किएकाले तत्काल पूर्ण रनवे प्रयोग गर्न सम्भव नभएको हो । सोही कारण सावधानीका रूपमा रनवे लम्बाइ १ हजार ५ सय मिटरबाट घटाएर १ हजार ४ सय मिटरमा सीमित गर्दै विमानस्थल सञ्चालनमा ल्याइएको उनले बताए ।
उनका अनुसार हाल प्रयोगमा ल्याइएको १ हजार ४ सय मिटर रनवे विमान सञ्चालनका लागि प्राविधिक रूपमा पर्याप्त छ । खत्रीले रनवे छोट्याएर सञ्चालन गरिएको विषयमा सबै पाइलटलाई नियमित रूपमा जानकारी गराइँदै आएको स्पष्ट पारे ।
आउने र जाने प्रत्येक उडानका चालक दललाई हालको रनवे अवस्था, उपलब्ध लम्बाइ र आवश्यक सावधानीबारे अग्रिम जानकारी दिइएको उनको भनाइ छ । ‘विमानस्थल सञ्चालनका लागि न्यूनतम प्राविधिक मापदण्ड पूरा भएको छ । जहाजको पछाडिको भाग अफ–ट्रयाकमा परेकाले रनवे केही छोट्याएका हौँ । अहिले १४ सय मिटरमा विमानस्थल चलिरहेको छ । त्यो लम्बाइ जहाजका लागि पर्याप्त छ,’ उनले भने ।
शुक्रबार राति करिब ९ बजेर १० मिनेटमा अवतरण गर्ने क्रममा जहाज रनवेबाट बाहिर गएको थियो । दुर्घटनाका बेला मौसम पूर्ण रूपमा सफा रहेको र दृश्यता राम्रो भएकाले मौसमका कारण घटना नभएको विमानस्थल प्रशासनको प्रारम्भिक निष्कर्ष छ । खत्रीका अनुसार विमानस्थलको तर्फबाट हेर्दा त्यतिबेला दुर्घटना हुने खालको मौसम अवस्था थिएन ।
दुर्घटनाको वास्तविक कारण भने हालसम्म यकिन हुन सकेको छैन । प्रारम्भिक अनुमानमा प्राविधिक कारण हुनसक्ने आशंका गरिएको छ । तर, यसबारे विस्तृत प्राविधिक अनुसन्धानपछि मात्रै ठोस निष्कर्षमा पुग्न सकिने खत्रीले बताए । ‘विमान दुर्घटनाको ठ्याक्कै कारण अनुसन्धानपछि मात्रै थाहा हुन्छ । अहिले तत्काल हेर्दा मौसमको कारण होइन । प्राविधिक पक्षबारे सम्बन्धित प्राविधिक टोलीले अनुसन्धान गरेपछि मात्र वास्तविक कारण खुल्छ,’ उनले भने ।
दुर्घटनाग्रस्त जहाजमा ५१ जना यात्रु, ४ जना चालक दलका सदस्य र १ जना इन्जिनियर गरी कुल ५६ जना सवार थिए । दुर्घटनामा को–पाइलट सुशान्त श्रेष्ठसहित ७ जना यात्रु घाइते भएका थिए । घाइतेमध्ये को–पाइलट श्रेष्ठको टाउको र अनुहारमा चोट लागेको छ र उनको भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालमा उपचार भइरहेको छ । अन्य ६ जना यात्रु भने सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन् ।
हाल दुर्घटनाग्रस्त विमानलाई रनवेबाट हटाउने काम जारी रहेको विमानस्थल प्रशासनले जनाएको छ । जहाज हटाइसकेपछि रनवे पुनः पुरानै लम्बाइमा सञ्चालन ल्याउने तयारी गरिएको छ । यसबीच यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै अतिरिक्त सावधानी अपनाइएको र सबै उडानहरू कडा निगरानीमा सञ्चालन भइरहेको भद्रपुर विमानस्थलले स्पष्ट पारेको छ ।

























