
काठमाडौँ । बहुविवाहको अभियोगमा पक्राउ परेका नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपाल कारागार चलान भएका छन्। जिल्ला अदालत रुपन्देहीले उनलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो।
मंसिर तेस्रो साता प्रहरी समक्ष आत्मसमर्पण गरेका डीएसपी नेपाल र असई गीता पुरीविरुद्ध बहुविवाहको उजुरी परेपछि पक्राउ पुर्जी जारी भएको थियो। अदालतले डीएसपी नेपाललाई थुनामा पठाए पनि उनीसँगै पक्राउ परेकी असई पुरीलाई भने ३० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
डीएसपी नेपालले अदालतमा बयान दिने क्रममा असई पुरीसँग आफ्नो प्रेम सम्बन्ध रहेको र ‘लिभिङ टुगेदर’ मा रहँदा दुई सन्तान जन्मिएको स्वीकार गरेका छन्। उनीहरूका ५ वर्षीया छोरी र २ वर्षीय छोरा रहेका छन्। डीएसपी नेपाल जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीमा कार्यरत थिए भने पुरी बुटवलस्थित विशेष सुरक्षा गणमा कार्यरत थिइन्।

























