
झापा । सशस्त्र प्रहरी बलले आफ्नो २५औँ स्थापना दिवस तथा रजत महोत्सवको अवसरमा देशको पूर्वी र पश्चिमी सीमाबाट एकसाथ ‘पूर्व–पश्चिम झण्डा मार्च’ सुरु गरेको छ। आइतबार सुदूरपूर्वी सीमा झापाको मेची पुल र सुदूरपश्चिमको सीमा कञ्चनपुरको गड्डाचौकीबाट यो अभियानको शुभारम्भ गरिएको हो।
सशस्त्र प्रहरी बल नं. २ गण झापाका एसपी तुलबहादुर भण्डारीका अनुसार मेची पुलबाट ३५ जना सशस्त्र प्रहरीको टोली सशस्त्र प्रहरीको झण्डा र चन्द्र–सूर्य अंकित राष्ट्रिय झण्डासहित मोरङतर्फ प्रस्थान गरेको छ। यो टोलीले झापा–मोरङ सीमामा पुगेर मोरङको सशस्त्र प्रहरी टोलीलाई झण्डा हस्तान्तरण गर्नेछ।
यसैगरी, पश्चिमको गड्डाचौकीबाट पनि समान ढङ्गले मार्च सुरु भएको छ। पूर्वबाट गएको र पश्चिमबाट आएको दुवै टोलीहरू चितवनको ठोरीमा पुगेर भेट हुनेछन्, जहाँ यो झण्डा मार्च अभियानको औपचारिक समापन गरिने जनाइएको छ।

























