
काठमाडौँ । अमेरिकाले भेनेजुएलामा सैन्य आक्रमण गरी राष्ट्रपति निकोलस मदुरोलाई नियन्त्रणमा लिएको घटनाको विरोधमा काठमाडौँमा मसाल जुलुस निकालिएको छ। नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले आइतबार साँझ राजधानीमा प्रदर्शन गरेको हो।
अनेरास्ववियु आबद्ध अस्कल क्याम्पसका विद्यार्थीहरूले मसाल जुलुससहित सडकमा उत्रिएर अमेरिकी कदमको चर्को विरोध गरेका छन्। प्रदर्शनकारीहरूले भेनेजुएलाको सार्वभौमसत्ताको रक्षा गर्न माग गर्दै कुनै पनि देशको आन्तरिक मामिलामा वैदेशिक सैन्य हस्तक्षेप स्वीकार्य नहुने बताएका छन्।
अमेरिकाले हालै भेनेजुएलामा सैन्य कारबाही गरी राष्ट्रपति मदुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएर अमेरिका पुर्याएको थियो। सोही घटनालाई लिएर विश्वव्यापी रूपमा टिकाटिप्पणी भइरहेका बेला नेपालमा पनि विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका हुन्।

























