
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ। सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहका बिच महान्यायाधिवक्ता सबिता भण्डारीले उक्त प्रतिवेदन प्रस्तुत गरेकी हुन्।
नेपालको संविधानको धारा १५९ बमोजिम महान्यायाधिवक्ताले प्रत्येक वर्ष आफूले सम्पादन गरेका कामकारबाहीको विवरण समेटिएको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ। उक्त प्रतिवेदनमा वर्षभरि सरकारका तर्फबाट चलाइएका मुद्दा, प्राप्त भएका कानुनी राय-सल्लाह र न्याय प्रशासनमा देखिएका चुनौतीहरूलाई समेटिएको हुन्छ।
राष्ट्रपति पौडेलले प्रतिवेदन ग्रहण गर्दै कानुनी राज्यको अवधारणालाई बलियो बनाउन महान्यायाधिवक्ताको कार्यालयको भूमिका महत्त्वपूर्ण रहने विश्वास व्यक्त गरे।

























