
काठमाडौँ । सरकारले राष्ट्रिय अनुसन्धान विभागको रिक्त रहेको अतिरिक्त अनुसन्धान निर्देशक (एआईजी) पदमा ओमबहादुर खड्कालाई बढुवा गरेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले खड्कालाई एआईजी पदमा बढुवा गर्ने निर्णय गरेको हो।
गत असोज ५ गते तत्कालीन प्रमुख हुतराज थापा अवकाशमा गएपछि रिक्त भएको मुख्य अनुसन्धान निर्देशक पदमा टेकेन्द्र कार्कीलाई बढुवा गरिएको थियो। कार्कीको बढुवासँगै विभागमा एक एआईजीको पद रिक्त हुन पुगेको थियो।
साढे तीन महिनादेखि रिक्त रहेको उक्त पदमा सरकारले अन्ततः पहिलो नम्बरको दाबेदारका रूपमा रहेका खड्कालाई बढुवा गरेको हो। यो बढुवासँगै विभागको उच्च नेतृत्वले पूर्णता पाएको छ।

























