
काठमाडौँ । पहिलो संविधानसभा सदस्य सुनिल बाबु पन्तले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिहरूलाई उद्यमी बन्ने सोचसहित अघि बढ्न आग्रह गरेका छन्। मायाको पहिचान नेपालले नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को सहयोगमा सञ्चालन गरेको बेकरी तथा बारिष्ठा तालिमका सहभागीलाई प्रमाणपत्र हस्तान्तरण गर्दै पन्तले उद्यमशीलताको बाटो रोज्न आग्रह गरेका हुन्।
मायाको पहिचान नेपालले ‘कोथिना मिठो छ’ सँगको सम्झौतामा दुई हप्ते तालिम सञ्चालन गरेको थियो। सो अवसरमा पन्तले तालिमपछि प्रमाणपत्र फ्रेम गरेर झुन्ड्याएर मात्र नराख्न सुझाव दिए। बेकरी क्षेत्रमा रोजगारी खोज्न सकिने भए पनि त्यसभन्दा अगाडि बढेर आफैँ उद्यमी बन्ने सोच लिन उनले सहभागीहरूलाई प्रोत्साहन गरे।
‘आफैँ उद्यमी बन्ने विचार लिएर आउनुभयो भने के सहयोग चाहिन्छ भन्नुहोस्, सकेको सहयोग हामी गर्छौँ,’ पन्तले भने। ५ देखि १० लाख रुपैयाँको लगानीमा राम्रो बेकरी सञ्चालन गर्न सकिने र यसले ब्रान्ड स्थापित गर्ने अवसर दिने उनको भनाइ थियो। उनले होमस्टे, गेस्टहाउस, साना होटल, रेष्टुराँ र फूलको व्यापार जस्ता व्यवसायबाट पनि राम्रो आम्दानी गर्न सकिने सम्भावना औँल्याए।
पन्तले सधैँ गैरसरकारी संस्थाको सहयोगको भर पर्नु भन्दा आफैँ भित्रबाट उद्यमी बन्ने अठोट हुनुपर्नेमा जोड दिए। कार्यक्रममा कोथिना मिठो छ का देवेन्द्र पोखरेलले सबैलाई विभेदरहित र सम्मानजनक वातावरणमा सीप सिकाइएको बताए। उनले यो तालिम रोजगारी, व्यापार र स्टार्टअपका लागि उपयोगी हुने विश्वास व्यक्त गरे।
तालिममा २४ जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरू सहभागी थिए। सहभागीहरू टिना राई, ज्ञानु लामा र बाबु दुमि राई लगायतले तालिमले आफूहरूमा आत्मविश्वास बढाएको र अब आफ्नै क्षमता देखाउने बाटो खुलेको प्रतिक्रिया दिए।

























