
काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि गठित जाँचबुझ समितिसमक्ष काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नो लिखित बयान बुझाएका छन्। आयोगका सदस्य विज्ञानराज शर्माका अनुसार आयोगले सोधेका विभिन्न प्रश्नहरूको जवाफ दिँदै शाहले उक्त लिखित बयान पेस गरेका हुन्।
यसअघि गत पुस ७ गते मेयर शाह आफैँ राष्ट्रिय मानव अधिकार आयोग पुगेर मौखिक बयान समेत दिएका थिए। उक्त क्रममा आयोगले उनीसँग करिब दुई घण्टा सोधपुछ गरेको थियो। सोधपुछका क्रममा भदौ २३ देखि २४ गतेसम्मको घटनाक्रममा उनको उपस्थिति, सामाजिक सञ्जालमा गरिएका टिप्पणी, सिंहदरबार जलाउने भनिएको प्रसंग, महानगरको सुरक्षा व्यवस्था र दमकल समयमा नपुगेको गुनासोका विषयमा केन्द्रित रहेर प्रश्नहरू सोधिएको थियो। यद्यपि, शाहले दिएको जवाफको विस्तृत विवरण भने आयोगले गोप्य राखेको छ।
आयोगले छानबिनको दायरालाई तीव्र पार्दै आइतबार मात्रै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग लिखित बयान लिएको थियो। प्रवक्ता शर्माका अनुसार बयान लिने कार्य अब अन्तिम चरणमा पुगेको छ। आयोगले हालसम्म कार्यक्षेत्रमा खटिएका प्रहरी अधिकारी, ‘जेन–जी’ प्रतिनिधि र प्रधानमन्त्रीको बयान लिइसकेको छ। पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा र पुष्पकमल दाहाललाई पनि एक साताको समय दिएर लिखित प्रश्न पठाइए पनि उनीहरूबाट जवाफ प्राप्त हुन बाँकी रहेको आयोगले जनाएको छ।

























