
बेलबारी । मोरङको बेलबारीमा साहित्यिक सक्रियता निरन्तर बढिरहेको परिवेशबीच स्थानीय स्रष्टा प्रकाश भट्टराईको पहिलो कृति ‘गुनासो’ गीतसङ्ग्रह सार्वजनिक भएको छ ।
कोशी साहित्य–कला परिषद् नेपालद्वारा प्रकाशित उक्त कृतिको लोकार्पण समारोह हालै बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न भएको हो । कोशी साहित्य–कला परिषद् नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा प्राज्ञ गंगा सुवेदी प्रमुख अतिथिका रूपमा उपस्थित थिइन् ।
चेतना संरक्षण प्रतिष्ठान नेपालकी अध्यक्षसमेत रहेकी सुवेदीले गीत साहित्यको कोमल र संवेदनशील विधा भएको उल्लेख गर्दै यसै विधालाई आफ्नो सिर्जनात्मक क्षेत्रका रूपमा रोजेकोमा कृतिकार भट्टराईलाई बधाई तथा शुभकामना दिइन् । गीतले भाषा, भावना र अनुभूतिमार्फत सबैको मन छुन सक्ने क्षमता राख्ने बताउँदै उनले ‘गुनासो’ले पाठक र श्रोतालाई एकसाथ तान्ने विश्वास व्यक्त गरिन् ।
कार्यक्रममा पूर्वसांसद, वरिष्ठ साहित्यकार तथा सामाजिक व्यक्तित्व हर्कमान तामाङले कृतिकार भट्टराईसँगको साहित्यिक यात्रालाई स्मरण गर्दै आफूले ‘गुरु’ हुने अवसर पाएकोमा गर्व लागेको बताए । उनले लामो समयदेखि सिर्जनामा सक्रिय रहे पनि पहिलो कृति सार्वजनिक हुनु स्रष्टाका लागि महत्वपूर्ण मोड भएको उल्लेख गर्दै आगामी दिनमा अझ सशक्त कृतिहरू आउने अपेक्षा व्यक्त गरे ।
कृतिकार भट्टराईले आफ्नो पहिलो कृति प्रकाशन हुनु आफ्ना लागि भावनात्मक र ऐतिहासिक क्षण भएको बताए । गीतसङ्ग्रह तयार पार्न निकै समय र श्रम खर्चिएर धैर्य गर्नु परेको उल्लेख गर्दै उनले यस यात्रामा प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति आभार प्रकट गरे । गीतमार्फत आफ्ना अनुभूति, समाजका पीडा र मानवीय संवेदनालाई प्रस्तुत गर्ने प्रयास गरिएको उनको भनाइ थियो ।
सभाध्यक्षका रूपमा मन्तव्य राख्दै कोशी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरहीले परिषद्ले नयाँ स्रष्टालाई प्रोत्साहन गर्दै केही फरक र सिर्जनात्मक कार्यक्रममार्फत साहित्यिक गतिविधि अघि बढाइरहेको बताए । भट्टराईको पहिलो कृति सार्वजनिक गर्न पाउँदा संस्थालाई खुसी लागेको उल्लेख गर्दै उनले स्थानीय स्तरमै गुणस्तरीय कृति प्रकाशन हुनु सकारात्मक संकेत भएको धारणा राखे ।
लोकार्पित कृतिमाथि प्रा.डा. भीम खतिवडा र कवि तथा गीतकार कृष्ण उदाशीले समीक्षा गरेका थिए । समीक्षा गर्दै उदाशीले ‘गुनासो’ गीतसङ्ग्रहमार्फत प्रकाश भट्टराईले गीत विधामा नयाँ मानकको सुरुआत गरेको टिप्पणी गरे ।
राजमार्गको सन्दर्भ जोड्दै उनले भट्टराईको यो कृतिले गीत साहित्यमा नयाँ बाटो निर्माण गरेको बताए । जसले समकालीन गीत लेखनलाई फरक दिशातर्फ डोर्याउने संकेत गरेको उनको भनाइ थियो ।
प्रा.डा. खतिवडाले ‘गुनासो’ले भावनात्मक, सामाजिक र सांस्कृतिक विविध पक्षलाई समेटेको उल्लेख गरे । नेपाल संस्कृत विश्वविद्यालयका निवर्तमान शिक्षाध्यक्षसमेत रहेका खतिवडाले भट्टराईका धेरै गीत ४ दशकअघि नै लेखिएका भए पनि कृति प्रकाशनमा ढिलाइ भएकोप्रति हल्का गुनासो व्यक्त गरे ।
‘४० को दशकमा लेखिएका गीतहरूको सङ्ग्रह ५२ वा ६२ मै आउनुपर्ने हो । ८२ सम्म किन पर्खिनुपर्यो ?’ भन्दै उनले यो गुनासो लेखकप्रति मात्र नभएर सबै पाठकको पनि भएको टिप्पणी गरे । कार्यक्रमलाई अझ जीवन्त बनाउँदै कृतिभित्र समावेश गीतहरूबाट चण्डी साङपाङ, सुरेश साङपाङ, यमुना पराजुली र चिरञ्जीवी काफ्लेले १–१ वटा गीत प्रस्तुत गरेका थिए । गायनले सभाहलमा उपस्थित साहित्यप्रेमीहरूलाई भावनात्मक रूपमा जोडेको थियो ।
संस्थाका उपाध्यक्ष विष्णु भण्डारी आचार्यले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको सञ्चालन सचिव नवराज पोखरेल ‘नवशिला’ ले गरेका थिए । कार्यक्रममा वरिष्ठ साहित्यकार हर्कमान तामाङ, सुन्दरहरैँचा कला साहित्य विकास समितिका अध्यक्ष डा. दीपकप्रसाद न्यौपाने, बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला, झोराहाट नाट्य समूहका अध्यक्ष भरत बर्बरिक, नेपाली साहित्य समाज उर्लाबारीका अध्यक्ष यज्ञ परिश्रमी, मिक्लाजुङ साहित्य समाजका अध्यक्ष इन्द्रप्रसाद घिमिरे, आम्लाबुङ साहित्य समाजका अध्यक्ष धनजित पराजुली, रंगेली साहित्य कला समाजका अध्यक्ष चिरञ्जीवी काफ्लेलगायत विभिन्न साहित्यिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
साहित्यिक व्यक्तित्वसँगै सामाजिक संघसंस्थामा सक्रिय व्यक्तिहरूको पनि सहभागिता रहेको कार्यक्रममा झापा, मोरङ र सुनसरीका स्रष्टा तथा कलाकारहरूको बाक्लो उपस्थिति देखिएको थियो । स्थानीयस्तरमा आयोजित भए पनि व्यापक सहभागिता र गम्भीर समीक्षा भएको यो कार्यक्रमले प्रकाश भट्टराईको ‘गुनासो’लाई १ कृतिको लोकार्पणमा सीमित नराखी समकालीन गीत साहित्यमा एउटा महत्वपूर्ण बाटोका रूपमा स्थापित गरेको स्रष्टाहरु बताउँछन् ।



















