
मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाल अन्तिम क्षणसम्म प्रतिस्पर्धामा रहे पनि इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ ।
मुम्बईको वाङ्खेडे स्टेडियममा आइतबार सम्पन्न खेलमा अन्तिम ओभरमा १० रन आवश्यक पर्दा नेपालले ५ रन मात्र जोड्न सकेपछि रोमाञ्चक खेल इंग्ल्यान्डको पक्षमा गएको हो । १८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनायो । खेल नेपालको नियन्त्रणमा देखिए पनि अन्तिम २ ओभरमा आवश्यक रन जुटाउन नसक्दा नेपालले जितको अवसर गुमायो ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४४ रनको योगदान दिए । उनले २९ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै कप्तान रोहित पौडेलसँग तेस्रो विकेटका लागि ८२ रनको महत्वपूर्ण साझेदारी गरे । यो साझेदारीले नेपाललाई जित नजिक पुर्याएको थियो ।
ओपनर कुशल भुर्तेल २९ रनमा विल ज्याक्सको बलमा कट एण्ड बोल्ड भए । पावरप्लेमा नेपालले २ ओपनर गुमाउँदै ४७ रन बनायो भने १० ओभरमा २ विकेटको क्षतिमा ८५ रन जोड्दा नेपाल इंग्ल्यान्डभन्दा अगाडि थियो । १२४ रनमा तेस्रो विकेट गुमाउँदा नेपालले खेल जित्ने सम्भावना बलियो बनाएको थियो ।
१८औं ओभरमा लोकेश बमले प्रहार गरेका २ छक्काले खेल फेरि नेपालको पक्षमा आएको जस्तो देखिए पनि अन्तिम ओभर निर्णायक बन्न पुग्यो । लोकेश बम ३९ रनमा अविजित रहे भने करण केसी १ रनमा नटआउट रहे । इंग्ल्यान्डका लागि लियम डाउसनले २ विकेट लिए भने लुक वुड, जोफ्रा आर्चर, विल ज्याक्स र साम करनले समान १–१ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनाएको थियो । इंग्ल्यान्डका लागि ज्याकोब बेथेलले ३५ बलमा ४ चौका र ४ छक्कासहित ५५ रन बनाए । उनले कप्तान ह्यारी ब्रुकसँग चौथो विकेटका लागि ७१ रनको साझेदारी गरेका थिए ।
पावरप्ले सकिँदा इंग्ल्यान्डले २ विकेटको क्षतिमा ५७ रन बनाएको थियो । नेपालका लागि पहिलो विकेट शेर मल्लले लिए । अन्तर्राष्ट्रिय क्रिकेटमा ५३औं खेलाडीका रूपमा डेब्यु गरेका उनले दोस्रो ओभरको पहिलो बलमै फिल साल्टलाई आउट गर्दै उत्कृष्ट सुरुवात दिलाए ।
दोस्रो विकेट नन्दन यादवले लिए । उनले जोस बट्लरलाई २६ रनमा विकेटकिपर आसिफ शेखको हातमा क्याच गराए । १० ओभरमा इंग्ल्यान्डले ३ विकेट गुमाउँदै ८४ रन बनाएको थियो भने ११.२ ओभरमा १०० रन पूरा गरेको थियो ।
ज्याकोब बेथेल र ह्यारी ब्रुकबीचको अर्धशतकीय साझेदारी दीपेन्द्र सिंह ऐरीले तोडे । उनले १३.४ ओभरमा बेथेललाई ५५ रनमा लोकेश बमको हातमा क्याच गराए। साम करन २ रनमा बोल्ड भए भने कप्तान ह्यारी ब्रुक ३२ बलमा ५३ रन बनाउँदै नन्दन यादवको बलमा शेर मल्लद्वारा क्याच आउट भए । जोफ्रा आर्चर १ रनमा रनआउट भए । अन्त्यमा विल ज्याक्स ३९ रनमा अविजित रहे भने लियम डाउसन शून्यमा नटआउट रहे ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले समान २–२ विकेट लिए भने शेर मल्ल र सन्दीप लामिछानेले १–१ विकेट लिए । नेपालले समूह चरणको दोस्रो खेल फेब्रुअरी १२ मा इटालीसँग खेल्नेछ ।



















