
कोलम्बो। टी-२० विश्वकपको सुपर-८ चरण अन्तर्गत पाकिस्तान र न्युजिल्याण्डबीच शनिबार हुने भनिएको पहिलो खेल वर्षाका कारण रद्द भएको छ। कोलम्बोमा तय भएको यो महत्वपूर्ण खेल वर्षाले बिथोलिएपछि दुवै टोलीले अङ्क बाँडेका छन्।
खेल सुरु हुनुअघि साँझ ६:४५ मा पाकिस्तानका कप्तान सलमान आघाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए। तर, मैदानमा खेलाडीहरू उत्रिनुअघि नै वर्षा सुरु भएपछि खेल प्रभावित भयो। झण्डै साढे दुई घण्टासम्मको प्रतीक्षा गर्दा पनि झरी नरोकिएपछि रेफ्रीहरूले अन्ततः खेल रद्द गर्ने निर्णय गरे। यससँगै दुवै टोलीलाई एक-एक अङ्क प्रदान गरिएको छ। जारी प्रतियोगितामा वर्षाले खेल रद्द भएको यो दोस्रो पटक हो; यसअघि जिम्बाब्वे र आयरल्यान्डबीचको खेल पनि यसैगरी प्रभावित भएको थियो।
पहिलो खेल नै रद्द भएपछि पाकिस्तान र न्युजिल्याण्डका लागि सेमिफाइनलको यात्रा थप चुनौतीपूर्ण बनेको छ। अब अन्तिम चारमा पुग्न दुवै टोलीले बाँकी रहेका आफ्ना दुई-दुई खेल अनिवार्य रूपमा जित्नुपर्ने दबाब बढेको छ। यी टोलीले अब आगामी खेलहरूमा इङ्ग्ल्यान्ड र श्रीलंकाको सामना गर्नेछन्।
प्रतियोगिता अन्तर्गत आज पनि दुईवटा खेलहरू हुँदैछन्। दिउँसो ३:१५ मा श्रीलंका र इङ्ग्ल्यान्डबीच पालकेले मैदानमा प्रतिस्पर्धा हुनेछ भने साँझ ७:१५ मा भारतले दक्षिण अफ्रिकासँग अहमदाबादमा प्रतिस्पर्धा गर्ने तालिका रहेको छ।

























