निर्वाचनको निष्पक्षता र शान्तिपूर्ण वातावरणको चुनौती

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फाल्गुन ११, सोमबार १६:००

प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा मुलुकभर चुनावी सरगर्मी बढेको छ। राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरू आ-आफ्ना एजेन्डासहित जनताको घरदैलोमा पुगिरहेका छन्।

साना सभा, भेटघाट र प्रचारप्रसारका कार्यहरू तीव्र पारिएका छन्। लोकतन्त्रको सुन्दर पक्ष मानिने निर्वाचनको यो उत्सवमय वातावरण उत्साहजनक हुनुपर्नेमा केही स्थानमा देखिएका अराजक गतिविधिले भने चिन्ता थपेको छ।

पछिल्ला दिनहरूमा विभिन्न स्थानमा दलका कार्यकर्ताहरूबीच बढ्दो असहिष्णुता चिन्ताको विषय बनेको छ। प्रतिस्पर्धालाई स्वस्थ बनाउनुको साटो अर्को पक्षको झन्डा जलाउने, चुनाव चिह्न नष्ट गर्ने, प्रचार सामग्री च्यात्ने र चुनावी कार्यालयमै तोडफोड गर्ने जस्ता उच्छृङ्खल क्रियाकलाप भइरहेका छन्।

यस्ता हर्कतले निर्वाचनको लोकतान्त्रिक गरिमालाई मात्र घटाउँदैन, समाजमा अनावश्यक मुठभेड र हिंसाको बिउ समेत रोप्ने काम गर्छ।

विशेष गरी यतिबेला मुलुकमा अराजकता मच्चाउन र अशान्ति बढाउन मौका पर्खेर बसिरहेका समूहहरू सक्रिय हुन सक्ने जोखिम उत्तिकै छ। निर्वाचनको तरल वातावरणको फाइदा उठाउँदै अस्थिरता निम्त्याउन खोज्ने तत्वहरूतर्फ राज्यको ध्यान जानु जरुरी छ।

सरकारले जिल्ला-जिल्लामा निर्वाचन सामग्री पुर्‍याउने र सुरक्षाकर्मी परिचालन गर्ने कार्यलाई तीव्रता दिए पनि यस्ता अदृश्य चुनौतीलाई नजरअन्दाज गर्न मिल्दैन।

भौतिक तयारीले मात्र निर्वाचन शान्तिपूर्ण हुन सक्दैन। जबसम्म राजनीतिक दल र तिनका कार्यकर्ताहरूले संयमता अपनाउँदैनन् र बाह्य घुसपैठ रोक्न सचेत हुँदैनन्, तबसम्म सुरक्षा चुनौती कायमै रहन्छ।

कतिपय स्थानमा निर्वाचन आचारसंहिताको खुल्लमखुल्ला उल्लंघन भइरहेको गुनासो बढ्नुले निर्वाचन आयोगको भूमिकामाथि पनि प्रश्न उठाएको छ। आचारसंहिता पालनाको विषय कागजमा मात्र सीमित नभई व्यवहारमा देखिनु अनिवार्य छ।

विगतका निर्वाचनहरूमा भएका हिंसात्मक घटनाबाट पाठ सिक्दै सरकारले शान्ति सुरक्षाको अवस्थालाई थप सुदृढ बनाउन आवश्यक छ। अराजक तत्वहरूलाई बेलैमा नियन्त्रण नगरे निर्वाचनको दिन भयावह स्थिति सृजना हुन सक्छ।

त्यसैले, भयमुक्त वातावरणमा मतदान गर्न पाउने नागरिकको अधिकार सुनिश्चित गर्न सरकार र सुरक्षा निकायले कुनै कसर बाँकी राख्नु हुँदैन।

निष्पक्ष, स्वतन्त्र र विश्वसनीय निर्वाचन नै सफल लोकतन्त्रको आधार हो। यसका लागि निर्वाचन आयोगको सूक्ष्म निगरानी, सरकारको कडा सुरक्षा प्रबन्ध र राजनीतिक दलहरूको जिम्मेवार आचरण अपरिहार्य छ।

नागरिक समाजले पनि दायाँबायाँ भइरहेका गतिविधिलाई नजिकबाट नियाल्दै खबरदारी गरिरहनुपर्छ। सबै पक्ष सचेत र जिम्मेवार बने मात्र आगामी निर्वाचनले मुलुकलाई सही दिशामा डोर्‍याउन सक्छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.