
विराटनगर । फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै चुनावी सरगर्मी बढेको छ । नेपाली कांग्रेसका महामन्त्री तथा मोरङको निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवार गुरुराज घिमिरे यतिबेला चुनावी अभियानमा सक्रिय छन् ।
सादगी, बौद्धिकता र निष्ठाको राजनीतिका प्रतिनिधि मानिने घिमिरेको चुनावी अभियान भने पछिल्लो समय गम्भीर विवादको घेरामा परेको छ । विवादको मूल कारण उनका युवा परिचालन संयोजकका रूपमा सक्रिय अभिषेक गिरीको आपराधिक र विवादास्पद पृष्ठभूमि हो ।
अभिषेक गिरी फौजदारी मुद्दामा दोषी ठहरिएका व्यक्ति हुन् । अपहरण तथा शरीर बन्धक मुद्दामा अदालतले दोषी ठहर गरी जेल भुक्तान गरिसकेका गिरी हाल कांग्रेसको राजनीतिमा सक्रिय छन् । गिरीमाथि अझै पनि कानुनविपरीतका गतिविधिमा संलग्न भइरहेको आरोप लाग्ने गरेको छ ।
उनले कांग्रेसभित्र प्रखर वक्ता, बौद्धिक र सादगी नेताको छवि बनाएका गुरुराज घिमिरेको चुनावी अभियानमा युवा परिचालन संयोजकको जिम्मेवारी पाएका छन् । घिमिरेले उक्त जिम्मेवारी दिएर गिरीलाई आफ्नो चुनाव प्रचारमा खटाउँदा अनेक संशय पैदा भएको छ ।
नेपाली कांग्रेसको राजनीतिमा वैचारिक धारको प्रतिनिधित्व गर्ने घिमिरे चुनावी सारथीका कारण आलोचना एवं विवादको घेरामा परेका हुन् । घिमिरेको नैतिक छविमा प्रश्न उठिरहेको छ । अपराधिक पृष्ठभूमिका गिरी आफूलाई समाजसेवी र राजनीतिक कार्यकर्ता दाबी गर्छन् । तर, त्यही समाजसेवा र राजनीतिको आवरणमा असुली र मिटरब्याजको धन्दा मच्चाइरहेको आरोप विगतदेखि नै लाग्ने गरेको छ । अहिले शैली फेरेर धन्दा चलाइरहेको आरोप बोकेर हिँड्छन् ।
नेपाली कांग्रेसद्वारा संरक्षित विराटनगरका गिरी विवादास्पद छवि भएका ‘गुन्डानाइके’को रूपमा परिचित छन् । घिमिरेको चुनाव अभियानमा युवा कमाण्डरकै जिम्मेवारी सम्हालेपछि त गिरीलाई कांग्रेसको राम्रै साथ, समर्थन र संरक्षण छ भन्ने प्रष्ट हुन्छ । घिमिरेलाई चुनाव जिताउन भनेर गिरी अहोरात्र खटिन्छन् । घिमिरेको चुनावी अभियानमा सबैतिर पुग्छन् । घिमिरेलाई चुनावमा आवश्यक पर्ने खर्च पानीसमेत उनै गिरीले व्यवस्था गर्ने गरेको चर्चा छ ।
‘चुनावी खर्चकै लागि अपराधिक पृष्ठभूमिका र हालसम्म गलत गतिविधि नछाडेका व्यक्तिलाई साथमा लिएर हिँड्दा घिमिरेको राजनीतिक एवं नैतिक प्रतिष्ठामा दाग लाग्ने सम्भावना बढेको छ,’ कांग्रेसका एक कार्यकर्ता भन्छन् । घिमिरेजस्ता विवादरहित नेताले आपराधिक र विवादास्पद पृष्ठभूमिका व्यक्तिलाई चुनावी अभियानमा युवा कमाण्डर बनाउँदा सबैले आश्चर्य मानिरहेका छन् ।

सुरक्षा स्रोतका अनुसार गुरुराजको चुनावी अभियानको हर्ताकर्ता गिरीले अहिले पनि गुन्डागर्दीको पुरानै शैली अपनाउँदै मिटरब्याज र असुलीको धन्दा चलाइरहेका छन् । तर, गिरी भने यो कुरालाई अस्वीकार गर्छन् । आरोपका बारेमा प्रश्न सोध्नेलाई धम्क्याउँछन् ।
प्रायः चुनावी कार्यक्रममा गुरुराजसँगै भेटिने गिरीले व्यवस्थापनको सबै जिम्मेवारी निर्वाह गरिरहेको स्रोतले बतायो । मिटरब्याजदेखि ठेक्कापट्टाका नाममा अवैध धन्दा चलाइरहेको आरोप खेप्दै आएका गिरीले समाजसेवाको आवरण र राजनीतिक संरक्षणमा पुनः गुण्डागर्दीको राज चलाउन खोजिरहेको प्रष्ट हुने प्रहरी अधिकारीहरु बताउँछन् ।
मिटरब्याजबाटै उनले अकुत सम्पत्ति आर्जन गरेको निकटस्थ बताउँछन् । उनले पछिल्लो समय जोडेको सम्पत्तिको छानबिन हुनुपर्ने आवाज पनि उठिरहेको छ । गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले समेत गिरीमाथि विशेष अदालतमा मुद्दा चलाएको विगत छ ।
तर, उक्त मुद्दामा २०७५ सालमा सफाइ पाए । त्यतिबेला गिरी अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय भुक्तान गरिरहेका थिए । पछिल्लो समय अकुत सम्पत्ति आर्जन गरेर आफन्त र नातेदारको नाम राखेको उनीनिकट स्रोतले बतायो ।
जेलबाट छुटे पनि मोरङ कारागारको भित्री प्रशासन उनकै कब्जामा रहेको कैदीबन्दीहरु बताउँछन् । कारागारमा चौकीदार हुँदा कैदीबन्दीलाई चरम यातना दिएको र उनीहरुसँग ठूलो रकम असुलेको आरोप लाग्दै आएको थियो । अहिले पनि गिरीकै निर्देशनमा कारागारभित्र कैदीबन्दीलाई चरम यातना दिएर पैसा असुल्ने काम हुने गरेको एक कैदीले बताए ।
गिरीविरुद्ध सम्पत्ति शुद्धीकरण, अपहरण तथा शरीर बन्धक बाहेक कर्तव्य ज्यान मुद्दासमेत चलेको थियो । २०६५ सालमा तत्कालीन जिल्ला विकास समिति मोरङमा टेण्डर लुट्न जाँदा भएको झडपमा करण यादव मारिएका थिए । त्यो घटनामा मुद्दा चलेपनि उनकै समूहका एक जनाले घटनाको जिम्मा लिँदै अदालतमा बयान दिएपछि सफाइ पाएर गिरी जेलमुक्त भए ।
विराटनगर र आसपासका क्षेत्रमा ‘डन’का रूपमा चिनिने एवं अपहरणजस्तो गम्भीर फौजदारी मुद्दामा जेल बसिसकेका पात्र अहिले कांग्रेसभित्रको हर्तकर्ता बनेर पार्टीका महामन्त्री गुरुराज घिमिरेको चुनावी अभियानलाई सहयोग गरिरहेका छन् । जेलबाट छुटेपछि उनले ‘गिरी फाउन्डेशन’ नामक संस्था खोलेर सामाजिक सेवाका नाममा आफ्ना गतिविधि गरिरहेका छन् । राजनीतिमा प्रवेश गर्दै गर्दा उनको पुरानो ‘दागी छवि’ समाजबाट अझै मेटिएको छैन ।

गिरीलाई राजनीतिक रूपमा सक्रिय हुन कानुनले समेत रोक्छ । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा २ को देहाय ‘ख’ ले राजनीतिक दलको सदस्यता प्राप्त गर्ने योग्यता तोकेको छ । त्यसमा भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचविखन तथा ओसारपसार, लागुऔषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, अपहरण सम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा कैदको सजाय नपाएको व्यक्तिले मात्रै राजनीतिक दलको सदस्यता पाउने व्यवस्था छ ।

राजनीतिक दल सम्बन्धी ऐनले अयोग्य ठहर गरेका व्यक्तिलाई नेपाली कांग्रेसको विधानको धारा ४ को उपधारा १ को देहाय ‘४’ र धारा ४ को उपधारा ३ को देहाय ‘च’ ले समेत अयोग्य मानेको छ । तर, आफ्नै पार्टीको विधानले क्रियाशील सदस्यता लिनलाई वञ्चित गरेका व्यक्तिलाई कांग्रेस महामन्त्री घिमिरेले भने चुनावी अभियानका क्रममा युवाको कमाण्डर बनाएर परिचालन गरेका हुन् ।


मोरङ–४ का विभिन्न चोक र गल्लीहरूमा एकातिर निष्ठाको राजनीति गर्ने गुरुराज घिमिरेको मुस्कुराइरहेको तस्बिर छ भने अर्कोतिर उनैलाई सघाइरहेका गिरीको उपस्थिति देखिन्छ । यो दृश्यले कांग्रेसका पुराना र इमान्दार कार्यकर्ताहरूलाई भने बिझाइरहेको छ । गिरीकै सक्रियता र साथका कारण गुरुराजलाई चुनाव जित्न चुनौती रहेको विश्लेषण गरिन्छ ।
कांग्रेसका पुराना र इमान्दार कार्यकर्ताले घिमिरेको चुनाव प्रचारमा गिरीको उपस्थितिलाई रुचाएका छैनन् । ‘सधैं विधिको शासन र नैतिकताको कुरा गर्ने नेताकै काँधमा चढेर विवादास्पद व्यक्तिले राजनीतिक शुद्धीकरणको पाटो रोजिरहेका छन्,’ कांग्रेसका एक कार्यकर्ताले दुखेसो पोखे ।
कांग्रेसभित्रका वैचारिक र बौद्धिक नेताहरूले यस विषयलाई गम्भीरताका साथ लिएका छन् । उनीहरूका अनुसार घिमिरेजस्तो नेताले चुनाव जित्नका लागि मात्र बाहुबलु वा विवादास्पद व्यक्तिको सहारा लिँदा उनको वर्षौंदेखिको राजनीतिक उचाइ घट्ने जोखिम बढेको छ । हुन त राजनीतिमा साम, दाम, दण्ड, भेद प्रयोग हुन्छ भनिन्छ । तर, गुरुराज घिमिरेबाट यस्तो अपेक्षा नगरिएको धेरैको बुझाइ छ ।
गिरीको उपस्थितिले घिमिरेको चुनावी अभियानलाई लाभभन्दा बढी नैतिक क्षति पुर्याइरहेको विश्लेषण कांग्रेसकै कार्यकर्ताहरु गर्छन् । अहिले विराटनगरका चिया पसलदेखि राजनीतिक वृत्तसम्म एउटै प्रश्न उठिरहेको छ, ‘के सादगी नेता गुरुराजले आफ्नो निष्ठाको विरासत दागी पात्रको आडमा जोगाउन सक्लान् ?’
तर, घिमिरेका युवा परिचालन संयोजक रहेका गिरीले भने चुनावी अभियान राम्रोसँग चलिरहेको र जित पक्का रहेको बताएका छन् । उनले आफूमाथि लागेका आरोपको खुलेर प्रतिवाद गरे । ‘सधैं पहिलेकै जस्तो ठान्न भएन । मैले धेरै राम्रा काम पनि गरिरहेको छु,’ उनी भन्छन् ।
मिटरब्याजसँग सम्बन्धित प्रश्नमा भने उनले धम्कीपूर्ण भाषा प्रयोग गरे । ‘मिटरब्याजको धन्दा मैले हैन, तिमीले गर्दै हौला । तिम्रा सबै रेकर्ड सुरक्षित छन् । राम्रो रिलेसनले राम्रै गर्छ। नराम्रोले नराम्रो नै गर्छ,’ मुलुकी खबरसँगको टेलिफोन सम्पर्कमा उनले भने ।
आफूले समाज सेवाका क्षेत्रमा गरेका धेरै राम्रा कामको भने समाचार नलेखिदिएको गुनासो पनि गिरीको थियो । गिरीले कारागारमा अहिलेसमेत हस्तक्षेप भइरहेको भनेर लागेको आरोप पनि अस्वीकार गरे । ‘कारागारमा बसेर आएको मान्छेलाई त्यस्तो आरोप लाग्छ नै । तर, अहिले कारागारमा मैले हैन, तिमीले हस्तक्षेप गरिरहेको कुरा आएको छ,’ उनले धम्कीपूर्ण शैलीमा भने ।

यस विषयमा बुझ्न खोज्दा घिमिरेको फोन उठेन । कांग्रेसका क्षेत्रीय सभापति विनोद बस्नेतले भने यसअघि खुमबहादुर खड्काले पनि टिकट पाएर चुनाव लडेको दृष्टान्त दिए । गिरी कांग्रेसको क्रियाशील सदस्य रहेको उनले बताए । ‘हुन त चुनाव प्रचारप्रसारमा पार्टीको सदस्य भइरहन पर्दैन । तर, उहाँ (गिरी) कांग्रेसको क्रियाशील सदस्य हुनु कानुनविपरीत हो भने ‘ब्याक’ गराउनुपर्छ,’ बस्नेतले भने ।
घिमिरे र गिरीको सहकार्यले नेपाली कांग्रेसभित्र वैचारिक, बौद्धिक र नैतिक छवि सम्बन्धी गम्भीर बहस जन्माएको राजनीतिक विश्लेषक एवं उपप्राध्यापक नवराज पाण्डेले बताए । ‘गिरीलाई ‘फ्रन्ट लाइन’मा बसेर दलको वकालत गर्न कानुनले पनि वञ्चित गरेको छ । राजनीतिमा सबैभन्दा विचार गर्नुपर्ने कुरा नैतिकता हो । राजनीतिक नैतिकताले कसुरदार ठहर भइसकेका व्यक्तिलाई चुनाव प्रचार र नेतासँगको सहकार्यमा अस्वीकार गर्छ,’ उनले भने ।
कानुनले दोषी ठहर गरिसकेको मान्छे प्रथम व्यक्ति भएर चुनाव प्रचारमा हिँड्दा नेतालाई निश्चय नै प्रत्यक्ष वा परोक्ष रुपमा नोक्सान पुर्याउने पाण्डेले बताए । ‘निष्ठाको राजनीति गरिरहेको व्यक्तिले विवादित एवं दागी पृष्ठभूमि भएकालाई सँगै लिएर हिँड्दा आइपर्ने अवाञ्छित प्रश्नहरुको सामनासँगै जवाफदेहिता पनि बहन गर्नुपर्ने हुन्छ,’ उनी भन्छन् ।
उनका अनुसार घिमिरे माथिको प्रश्न चुनावको परिणाममा मात्रै सीमित छैन । यो बहस पार्टीभित्रको मूल्य, निष्ठा, कानुनी मर्यादा र राजनीतिक संस्कारको परीक्षणका रूपमा उभिएको पाण्डेको ठम्याइ छ । ‘राजनीतिमा जितका लागि सबै कुरा स्वीकार्य हुन्छ कि हुँदैन ? सादगी र निष्ठाको राजनीति गर्ने नेताले दागी पृष्ठभूमिका व्यक्तिसँगको सहकार्यलाई कसरी न्यायोचित ठहर गर्ने ? भन्ने प्रश्न उठिरहेको छ,’ पाण्डे भन्छन् ।
कांग्रेस कार्यकर्ताहरुका अनुसार चुनावी नतिजा जे आए पनि गिरीसँगको सहकार्यले गुरुराज घिमिरेको राजनीतिक यात्रामा गहिरो छाप भने अवश्य छाड्ने छ । उनीहरुको विश्लेषणमा गिरीको उपस्थितिले घिमिरेको चुनावी अभियानलाई लाभ नभएर नैतिक क्षति पुर्याइरहेको देखिन्छ । मतदाताले नैतिकताको राजनीतिमा सहकार्यको विरोधाभासलाई कसरी मूल्यांकन एवं अनुमोदन गर्छन् भन्ने प्रश्न उठ्नु स्वभाविक रहेको उनीहरुको भनाइ छ ।



















