
काठमाडौं। यौन व्यवसायीहरूको जीवनकथा र उनीहरूको वास्तविक अवस्थालाई समेटेर निर्माण गरिएको फिल्म ‘लालिमा’ आगामी फागुन २९ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने भएको छ। निर्देशक रोशन मिराजले यौनकर्मीहरूको पीडा र समस्यालाई गहिराइबाट देखाउन डकुमेन्ट्री बनाउन खोजे पनि उनीहरूको परिचय खुल्ने डरका कारण फिल्मको रूप दिएको बताए।
विगत २० वर्षदेखि यौनकर्मीहरूसँग जोडिएर काम गरिरहेका मिराजका अनुसार सुरुमा डकुमेन्ट्रीका लागि उनीहरू पर्दामा आउन चाहेका थिएनन्। तर फिल्मका माध्यमबाट आफ्नो कथा भन्न सकिने भएपछि उनीहरू आफ्ना समस्या र पीडा व्यक्त गर्न तयार भएका हुन्। फेथ आस्थाको प्रस्तुतिमा तयार भएको यो फिल्मले समाजको एउटा पाटोलाई चित्रण गर्ने प्रयास गरेको छ।
फिल्ममा रोशनी कार्की, उषा रजक, जीवन भट्टराई, सुष्मा निरौला, घनश्याम जोशी, सबिन कट्टेल र शिशिर वाङ्देललगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ। यस फिल्मको वितरणको जिम्मा नेसनल सिने ग्रुप नेपालले लिएको छ।



















