
काठमाडौं । महत्त्वपूर्ण पर्व छुसक चलिरहेको बेला दक्षिण कोरियामा बसोबास गर्ने नेपालीका लागि एउटा सांगीतिक कार्यक्रम उत्सवमा परिणत भयो, जसमा व्यापक सहभागिताबीच एकै स्थानमा नेपालीपनका विविध आनन्द समेटिएका थिए। लोक–रक गीतहरू सुनाउन छैटौँपटक यस मुलुकमा आएको नेपथ्यको कन्सर्ट भव्य रूपमा सम्पन्न भएको छ।
शुक्रबार आयोजित कार्यक्रममा उपस्थित दर्शकको भीड सम्हाल्न आयोजकदेखि लिएर कोरियाली सुरक्षाकर्मीसम्मलाई हम्मेहम्मे परेको देखिन्थ्यो। त्यसै गरी मञ्चको अग्रभागमा दर्शकको घुइँचो खुकुलो पार्न गायकले समेत आह्वान गर्नुपरेको थियो। त्यसअघि आयोजनास्थल किन्टेक्स हलसम्म पुग्ने जीटीएक्स स्टेसनतर्फका रेलहरू उभिने ठाउँसमेत नभेटिने गरी नेपाली दर्शकले भरिभराउ देखिन्थे भने हजारौँ दर्शक अटाउने क्षमताको अत्याधुनिक हल टम्म भरिएको थियो।
साढे तीन दशक लामो सांगीतिक यात्रामा बन्द हलभित्र देखिएको यो स्तरको सहभागिताले नेपथ्यलाई बेलायतको वेम्बली एरिनामा भएको कन्सर्टको सम्झना गराएको थियो। कन्सर्टको सुरुवात ‘कोशीको पानी यो जिन्दगानी’ बाट गरिएको थियो। यस क्रममा मुख्य गायक एवं ब्यान्ड अगुवा अमृत गुरुङले नदी सभ्यतालाई अँगालेर अघि बढेको नेपाली समाज पछिल्लो समय जलवायु परिवर्तनका कारण तिनै नदीनालाबाट डराएर बाँच्नुपर्ने अवस्थामा पुगेको पीडा पोखेका थिए।
यसरी आफ्ना गीत र समसामयिक विषयवस्तुबारे विचार सुनाउँदै अमृतले दुई घण्टासम्म प्रस्तुति दिएका थिए। ‘मिल्ने नै भए एकपटक पारिजात (दिवंगत लेखिका) सँग भेट्ने थिएँ,’ कन्सर्ट हेरेर फर्केपछि दर्शक सुष्मा रानाहँमा राईले आफ्नै शैलीसहित फेसबुकमा लेखेकी छन्, ‘जीवनमा पटकपटक हेरिरहूँ, सुनिरहूँ लाग्ने नेपथ्य।’
यस पालाको कन्सर्टमा केही नयाँपन पनि देखिन्थ्यो। जस्तो, गायक अमृतले ‘चरी मर्यो सिसैको गोलीले’ गीतको थालनी गर्दा ‘ए साइँला’ भन्दा पहिले ‘ए नि हाउ… हा… हा…’ भन्दै आलाप तानेर धुनको मुड स्थापित गरेका थिए। सायद यस्तै कुराले प्रभावित भएर अर्का दर्शक पास्तेम्बा शेर्पाले गायक अमृतको फेसबुकमा प्रतिक्रिया जनाउँदै लेखेका छन्, ‘ह्वाट अ प्याकेज, ह्वाट अ ग्रेट लेसन फर नेसनालिटी, टु आवर वाज जस्ट लाइक ट्वेन्टी मिनेट (कति राम्रो प्याकेज, राष्ट्रियताको कस्तो उत्कृष्ट पाठ, दुई घण्टा त बीस मिनेटजस्तै गरी सकियो)।’
अमृतकै फेसबुकमा अर्का दर्शक कल्ता लावती लिम्बूले ‘सधैँ दर्शकलाई यसै गरी उफार्ने जोसजाँगर मिलिरहोस्’ भनेर आशिषसमेत दिएका छन्। कन्सर्ट हेर्न आफू एक्लै आएको, एक्लै रमाएको र मनैदेखि खुसी भएर फर्किएको जानकारी पनि उनले पोस्ट गरेका छन्। विभिन्न हाउभाउसहित आएका दर्शकमध्ये आफूहरूले मिलेर डिजाइन गरेको नेपथ्य अंकित टिसर्ट लगाएर उपस्थित समूह पनि थियो। अर्कातिर नेपाली परम्परागत खानेकुराका अनेकथरी स्टल समेटिएको बेग्लै हलमा पनि उत्तिकै भीडभाड देखिन्थ्यो।
‘हामीलाई सदैव न्यानो माया दिँदै आएको कोरियाले यसपाला झनै भव्य स्वागत गर्यो,’ कार्यक्रम सम्पन्न भएपछि गायक अमृतले भने, ‘यसलाई थप प्रेरणाका रूपमा लिएका छौँ।’ नेपालीहरूबीच एकताको सन्देश प्रवाह गर्ने यस्तो महत्त्वपूर्ण आयोजनासँग जोडिन पाएकामा गौरव महसुस भइरहेको स्थानीय आयोजक सुरेश लिम्बूले बताए। ‘गुणस्तर र दर्शक सहभागिता दुवै हिसाबले यो कन्सर्ट मानक बन्न पुग्यो,’ कार्यक्रमपछि लिम्बूले प्रतिक्रिया दिए, ‘दक्षिण कोरियाका परिश्रमी नेपाली छुसक पर्वको बेला मिठो सम्झना बोकेर कन्सर्टबाट फर्केका छन्।’
मञ्चमा अमृतलाई सदाझैँ ड्रमसेटमा ध्रुव लामा, बेस गिटारमा सुविन शाक्य, गिटारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए। कन्सर्ट सम्पन्न भएपछि ब्यान्ड शनिबारै स्वदेश फर्किसकेको छ।
अब केही दिनमै अर्थात् अक्टोबर ४ मा नेपथ्यले आफूलाई संयुक्त अरब इमिरेट्सको दुबई सहरमा प्रस्तुत गर्ने घोषणा गरिसकेको छ। त्यसपछि पनि नेपालका सातवटा सहर र भारतको सिक्किममा ब्यान्डले कन्सर्टको तालिका प्रकाशन गरिसकेको छ। त्यसै गरी यही वर्ष अस्ट्रेलियाको पनि शृङ्खलाबद्ध यात्रा गर्ने प्रारम्भिक जानकारी ब्यान्डले दिइसकेको छ।



















