डा. शेखर कोइराला : खरानीमाथि उभिएर चुनाव जित्ने साहस

Share this
762shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फाल्गुन १८, सोमबार १२:५२

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगर सधैं राष्ट्रिय राजनीतिको केन्द्रबिन्दुमा रहँदै आएको सहर हो । नेपालमा प्रजातान्त्रिक आन्दोलनको बीउ यहीँबाट रोपिएको थियो ।

विराटनगरबाट जागेका नेताहरूले मुलुकको राजनीतिक दिशा तय गरेका थिए । १०४ वर्ष लामो जहानियाँ राणा शासन उखाल्न विराटनगरले गरेको योगदान इतिहासमा अंकित छ । १९९० को दशकदेखि गिरिजाप्रसाद कोइरालाको समयसम्म यो सहर राजनीतिक केन्द्रको रूपमा सधैं उपस्थित रह्यो । तर, अहिले विराटनगर राष्ट्रिय राजनीतिको नक्शाबाट टाढिँदै गएको भान हुन्छ ।

नेपालको प्रजातान्त्रिक आन्दोलनको सुरुवात यहीँबाट भएको हो । १९९३ सालमा विराटनगर जुट मिल्स स्थापना भयो । जहाँ तत्कालीन राणाशासनविरुद्ध मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला, तारणीप्रसाद कोइरालालगायतले मजदुर आन्दोलनको नेतृत्व गरे । व्यवस्थित प्रजातान्त्रिक आन्दोलनको मार्ग तय गर्ने जग त्यही मजदुर आन्दोलनले बसायो ।

 

नेताहरु गिरफ्तार भए पनि आफ्नो अडानमा दृढ रहँदै जनता र प्रजातन्त्रको पक्षमा उभिएका थिए । २००७ सालमा नेपाल प्रजातन्त्र रेडियोको स्थापना गरेर राणा शासनको अन्त्य हुनुअघि नै राजनीतिक चेतना फैलाइएको थियो । यसैलाई पछि रेडियो नेपालमा रूपान्तरण गरिएको हो ।

विराटनगरले नेपालको राजनीतिक नेतृत्व उत्पादन गर्ने क्षेत्रमा पनि अतुलनीय योगदान दिएको छ । मात्रिकाप्रसाद कोइराला, बीपी कोइराला, गिरिजाप्रसाद कोइराला दाजुभाइहरू मात्रै होइनन्, मनमोहन अधिकारी र नागेन्द्रप्रसाद रिजाल पनि यही सहरबाट प्रधानमन्त्री बनेका छन् । नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीले चलाएको नौ महिनाको शासन लोकप्रिय र नैतिकताका दृष्टिले इतिहासमा अंकित छ ।

हाल नागरिक सरकारकी प्रधानमन्त्री सुशीला कार्की पनि विराटनगरकी हुन् । धेरै राजनीतिक योद्धालाई जन्माएको विराटनगरबाटै राष्ट्रिय राजनीति सधैं प्रभावित हुँदै आएको विगत छ ।

तर, गिरिजाप्रसाद कोइरालाको निधनपछि विराटनगर राजनीतिक केन्द्रबाट टाढिँदै गएको देखिन्छ । गिरिजाप्रसाद कोइराला सधैं विराटनगरलाई महत्व दिन्थे । नयाँ निर्णय, राजनीतिक घोषणा वा पार्टीको रणनीति तयार पार्दा उनी विराटनगर नै आउँथे । उनको उपस्थितिले यहाँको राजनीतिक वातावरण सधैं सक्रिय र चर्चित रहन्थ्यो ।

राजनीतिक विश्लेषक गिरीश भट्टराई पछिल्लो पुस्तामा कोइरालाको ‘लिगेसी’ बोकेर अगाडि बढ्ने पात्र नभएको कारण विराटनगरले ठूलो राजनीतिक क्षति बेहोर्दै गएको महसुस गर्छन् । ‘पुस्तान्तरण नहुँदा विराटनगर राष्ट्रिय राजनीतिबाट छिटो टाढिँदै गएको छ,’ भट्टराई भन्छन् । अहिले कोइरालाको परिवारको विरासत बोकेर डा. शेखर कोइरालाले राजनीतिक उपस्थिति एवं सक्रियता देखाइरहेका छन् ।

कोइराला परिवारको निवास ऐतिहासिक रूपमा विराटनगरको राजनीतिक र सामाजिक केन्द्र मानिन्थ्यो । जेनजी आन्दोलनको आवरणमा अराजक समूहले भदौ २४ गते कोइराला निवासमा आगजनी, तोडफोड र लुटपाट मच्चायो । आगो लगाएर निवासको ऐतिहासिकता स्वाहा पारियो ।

डा. शेखरकी पत्नी पुनमको आँखाअघि नै घर माथि आक्रमण भयो । उनी भन्छिन्, ‘१९९०, २०४५, २०७२ को भूकम्पले पनि नभत्काएको ऐतिहासिक धरोहर आफ्नै आँखाअगाडि ध्वस्त भएको देख्न पर्यो ।’ आगो लगाएपछि घरमा सिलिन्डर विस्फोट भयो । भाँडा कपडासहित घरभित्र रहेका सबै कुरा जलाइयो । राजनीतिकर्मीहरु यो घटनालाई व्यक्तिगत क्षतिका रूपमा नमानेर विराटनगरको राजनीतिक र सामाजिक विरासत माथिको प्रहार भन्छन् ।

कोइराला परिवारको राजनीतिक योगदान शताब्दी लामो छ । जहानियाँ राणाशासनको समयमा सिन्धुलीको दुम्जाबाट आएका कालिदास कोइराला काठमाडौंबाट रंगेली पठाइए । उनलाई तत्कालीन राणाशासकले सजायको रूपमा त्यहाँ पठाएका थिए । उनीसँगै कृष्णप्रसाद कोइराला पनि विराटनगर आए ।

कृष्णप्रसादले जनताको पक्षमा निडर भएर उठ्ने काम गरे । उनले शिक्षा, स्वास्थ्य, धार्मिक र सामाजिक क्षेत्रमा सक्रियता देखाए । जसले उनको राणाशासनसँगको द्वन्द्वलाई अझ स्पष्ट बनायो । यही विराटनगरबाट मात्रिकाप्रसाद, बीपी र गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बन्न पुगे ।

विराटनगरको राजनीतिक चमक गिरिजाप्रसाद कोइरालासँगै धिमा हुँदै गयो । पछिल्लो पुस्तामा राजनीतिमा सक्रिय पात्र सीमित छन् । कोइराला परिवारमा डा. शेखर, डा. शशांक र सुजाता मात्र राजनीतिमा सक्रिय छन् । तीमध्ये आगामी फागुन २१ को निर्वाचनमा नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखरले मात्रै उम्मेदवारी दिएका छन् ।

मोरङको निर्वाचन क्षेत्र नम्बर ६ बाट चुनावमा होमिएका उनले ८ बुँदे अठोटपत्र लिएर राजनीतिक विरासत फिर्ता ल्याउने लक्ष्य राखेका छन् । अपराधिक समूहले जलाएर खरानी बनाएको ऐतिहासिक निवासबाटै चुनावमा होमिने साहस उनले गरेका हुन् । आगोले सबै सकिए पनि त्यही घरबाट उनले निर्वाचन लड्ने आँट र चुनाव जित्ने हिम्मत गरिरहेका छन् ।

कोइराला परिवारको राजनीतिक योगदानको विगतलाई काँधमा बोकेर ऊर्जाका साथ अघि बढिरहेका कोइराला खरानी बनाएको घरभित्र पहिलोपटक असोज ९ गते पस्दा स्तब्ध बनेका थिए । तर, हिम्मत हारेनन् । अहिले ध्वस्त बनाइएको घरमा बसेर साहसका साथ चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । कांग्रेसको पुरानो विरासत जोगाउने अभियानमा सक्रिय छन् ।

डा. शेखरसँग नेकपा (एमाले)का विनोद ढकाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रुविना आचार्य, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का ओपेन्द्र रायलगायत १७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । मोरङ–६ मा कांग्रेसको चुनावी अभियानलाई व्यक्तिगत जितको लागि मात्रै नभइकन खरानीमाथि उभिएर डा. शेखरले गरेको विराटनगरको राजनीतिक चमक फिर्ता ल्याउने प्रतिज्ञासँग पनि जोडेर हेरिन्छ ।

खरानीमाथि उभिएका डा. शेखरलाई ध्वस्त बनाइएको घर मर्मत सम्भारका लागि ३ महिनाजति लाग्यो । घरलाई सामान्य हिसाबले बस्न हुनेसम्म बनाइएको छ । तर, आगोको लप्काले सकिदिएको निवास अझै पनि खण्डहर देखिन्छ । त्यहाँ पुग्नेको मन कोइराला निवासको बेहालत देखेर बेचैन हुन्छ । निवासको गेट खुल्नेबित्तिकै पूर्वप्रधानमन्त्री स्वः गिरिजाप्रसाद कोइरालाले चढ्ने गाडी देख्न सकिन्छ तर, आगो लगाएर ध्वस्त पारिएको अवस्थामा ।

ध्वस्त बनाइएको निवासको एउटा भवनमा माथिबाट टेन्ट लगाएर घाम छेक्नेसम्म बनाइएको छ । कोइराला निवासमा पुग्ने पाहुनाहरु त्यही टेन्टमुनि छलिएर प्लाष्टिकका कुर्सीमा बस्छन् । यसलाई घरको पुनर्निर्माण मात्रै नभएर विराटनगरको राजनीतिक विरासत बचाउने डा शेखरको कदमका रूपमा लिइएको छ ।

विराटनगरका राजनीतिक विश्लेषक भट्टराई भन्छन्, ‘विराटनगरले राष्ट्रिय स्तरका नेता उत्पादन गरेको छ । तर, विराटनगर आज राष्ट्रिय राजनीतिमा ओझेलमा परेको छ ।’ पछिल्लो समय भने डा. शेखरले पुरानो विरासत जोगाउँदै विराटनगरलाई मात्रै नभएर राजनीतिको केन्द्र रहेको मोरङलाई राजनीतिक हिसाबले जीवन्त एवं चलायमान बनाउन खोजिरहेको उनको बुझाइ छ ।

विपक्षी र विभिन्न तत्वको प्रहारदेखि निवासमा आगजनीको आक्रमणसम्मका पीडा बेहोरेर थिलथिलो बनेका डा. शेखरले देखाएको हिम्मतसँग भने आशा गर्ने केही ठाउँ रहेको विश्लेषकहरु बताउँछन् । विश्लेषक भट्टराई विराटनगरले उत्पादन गरेका ६ जना प्रधानमन्त्री र अन्य उच्चस्तरीय नेताहरूले रचेको राजनीतिक इतिहासलाई डा. शेखरले सम्हाल्नुपर्ने बताउँछन् ।

डा. शेखरको उम्मेदवारी विरासतलाई बचाउने महत्वपूर्ण प्रयासको रूपमा हेरिएको छ । उनी २०७९ को निर्वाचनमा ३५ हजार २३४ मत प्राप्त गरेर विजयी भएका थिए । उनका निकट प्रतिद्वन्द्वी नेकपा (एमाले)का लालबाबु पण्डित थिए । यसपटक पुनः चुनावमा होमिएका डा. शेखर मोरङ–६ लाई राजनीतिक राजधानी बनाउने र विराटनगरको राजनीतिक चमक पुनः स्थापित गर्ने लक्ष्यमा छन् ।

डा. शेखरको अनुभव, कोइराला परिवारको नाम र राजनीतिक विरासतले उनलाई अझ बलियो उम्मेदवार बनाएको विश्लेषण गरिन्छ । त्यहाँमाथि ऐतिहासिक कोइराला निवासमा अपराधिक समूहले गरेको आगजनीको सहानुभूति पनि उनले प्राप्त गर्ने विश्लेषकहरु बताउँछन् । नेपाली कांग्रेस विराटनगर महानगर सभापति दीपक चापागाईं डा शेखर मतदाताको विश्वास जित्दै राष्ट्रिय राजनीतिको इतिहास र विराटनगरको गर्व पनि साथमा लिएर अघि बढिरहेको बताउँछन् ।

जटिल स्थितिमा पुगेको देशको राजनीति सम्हाल्न डा. कोइरालाबाहेक अरुबाट सम्भव नहुने उनको बुझाइ छ । ‘विराटनगरको पुरानो राजनीतिक राप र ऐतिहासिक योगदानलाई बचाउन डा. शेखरबाट मात्रै सम्भव देख्छु,’ सभापति चापागाईंले भने, ‘मुलुकमा बाह्य हस्तक्षेप बढिरहेका बेला निर्वाचन मतपेटीको प्रतिस्पर्धा मात्र नभएर मोरङको राजनीतिक भविष्य र विरासत बचाउने लडाइँ पनि हो भन्ने आम जनताले बुझ्न जरुरी छ ।’

‘संकटका बेला सबैले सम्झिने डा. शेखर कोइरालालाई नै हो । त्यही भएर फागुन २१ गते सबैले मत दिएर उहाँलाई विजयी गराउनुपर्छ । सबै हिसाबले ओझेलमा परिरहेको विराटनगरसहित समग्र मोरङलाई अघि बढाउन डा. शेखरको विकल्प छैन,’ उनी भन्छन् । उनका अनुसार डा. शेखरको काँधमा विराटनगरको राजनीतिक विरासत बचाउने चुनौतीदेखि ऐतिहासिक र वर्तमान परिस्थितिलाई सँगसँगै लिएर अघि बढ्ने दायित्व पनि छ ।

विराटनगरको गौरव, राजनीतिक स्मृति र प्रजातान्त्रिक आन्दोलनको बीउलाई संरक्षण गर्न चाहनेहरुलाई चुनावमा डा. शेखरको विकल्प नखोज्न चापागाईंको आह्वान छ । विश्लेषकहरु विराटनगरको महत्व र ऐतिहासिकता सम्हाल्ने जिम्मेवारी डा. शेखरको काँधमा रहेको बताउँछन् । उनीहरुका अनुसार व्यक्तिगत नभइकन विराटनगर, मोरङ एवं समग्र देशको गौरव र राष्ट्रिय राजनीतिको स्मृतिलाई जोगाउन खरानीमाथि उभिएर डा. शेखरले अनेक चुनौतीको सामना गरिरहेका छन् ।

सभापति चापागाईं विराटनगर र समग्र मोरङलाई फेरि राष्ट्रिय राजनीतिको नक्शामार्फत चम्किलो केन्द्रका रूपमा फर्काउन तथा समग्र क्षेत्र नम्बर ६ को विकासलाई दीर्घकालीन हिसाबले अघि बढाउन डा. शेखरले चुनाव जित्नैपर्ने बताउँछन् । तर, १ लाख ३७ हजार ८३२ मतदाता रहेको मोरङ–६ को भविष्य एवं राजनीतिक दिशा भने आगामी फागुन २१ गतेले तय गर्नेछ ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×