
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगर सधैं राष्ट्रिय राजनीतिको केन्द्रबिन्दुमा रहँदै आएको सहर हो । नेपालमा प्रजातान्त्रिक आन्दोलनको बीउ यहीँबाट रोपिएको थियो ।
विराटनगरबाट जागेका नेताहरूले मुलुकको राजनीतिक दिशा तय गरेका थिए । १०४ वर्ष लामो जहानियाँ राणा शासन उखाल्न विराटनगरले गरेको योगदान इतिहासमा अंकित छ । १९९० को दशकदेखि गिरिजाप्रसाद कोइरालाको समयसम्म यो सहर राजनीतिक केन्द्रको रूपमा सधैं उपस्थित रह्यो । तर, अहिले विराटनगर राष्ट्रिय राजनीतिको नक्शाबाट टाढिँदै गएको भान हुन्छ ।

नेपालको प्रजातान्त्रिक आन्दोलनको सुरुवात यहीँबाट भएको हो । १९९३ सालमा विराटनगर जुट मिल्स स्थापना भयो । जहाँ तत्कालीन राणाशासनविरुद्ध मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला, तारणीप्रसाद कोइरालालगायतले मजदुर आन्दोलनको नेतृत्व गरे । व्यवस्थित प्रजातान्त्रिक आन्दोलनको मार्ग तय गर्ने जग त्यही मजदुर आन्दोलनले बसायो ।
नेताहरु गिरफ्तार भए पनि आफ्नो अडानमा दृढ रहँदै जनता र प्रजातन्त्रको पक्षमा उभिएका थिए । २००७ सालमा नेपाल प्रजातन्त्र रेडियोको स्थापना गरेर राणा शासनको अन्त्य हुनुअघि नै राजनीतिक चेतना फैलाइएको थियो । यसैलाई पछि रेडियो नेपालमा रूपान्तरण गरिएको हो ।
विराटनगरले नेपालको राजनीतिक नेतृत्व उत्पादन गर्ने क्षेत्रमा पनि अतुलनीय योगदान दिएको छ । मात्रिकाप्रसाद कोइराला, बीपी कोइराला, गिरिजाप्रसाद कोइराला दाजुभाइहरू मात्रै होइनन्, मनमोहन अधिकारी र नागेन्द्रप्रसाद रिजाल पनि यही सहरबाट प्रधानमन्त्री बनेका छन् । नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीले चलाएको नौ महिनाको शासन लोकप्रिय र नैतिकताका दृष्टिले इतिहासमा अंकित छ ।

हाल नागरिक सरकारकी प्रधानमन्त्री सुशीला कार्की पनि विराटनगरकी हुन् । धेरै राजनीतिक योद्धालाई जन्माएको विराटनगरबाटै राष्ट्रिय राजनीति सधैं प्रभावित हुँदै आएको विगत छ ।
तर, गिरिजाप्रसाद कोइरालाको निधनपछि विराटनगर राजनीतिक केन्द्रबाट टाढिँदै गएको देखिन्छ । गिरिजाप्रसाद कोइराला सधैं विराटनगरलाई महत्व दिन्थे । नयाँ निर्णय, राजनीतिक घोषणा वा पार्टीको रणनीति तयार पार्दा उनी विराटनगर नै आउँथे । उनको उपस्थितिले यहाँको राजनीतिक वातावरण सधैं सक्रिय र चर्चित रहन्थ्यो ।
राजनीतिक विश्लेषक गिरीश भट्टराई पछिल्लो पुस्तामा कोइरालाको ‘लिगेसी’ बोकेर अगाडि बढ्ने पात्र नभएको कारण विराटनगरले ठूलो राजनीतिक क्षति बेहोर्दै गएको महसुस गर्छन् । ‘पुस्तान्तरण नहुँदा विराटनगर राष्ट्रिय राजनीतिबाट छिटो टाढिँदै गएको छ,’ भट्टराई भन्छन् । अहिले कोइरालाको परिवारको विरासत बोकेर डा. शेखर कोइरालाले राजनीतिक उपस्थिति एवं सक्रियता देखाइरहेका छन् ।

कोइराला परिवारको निवास ऐतिहासिक रूपमा विराटनगरको राजनीतिक र सामाजिक केन्द्र मानिन्थ्यो । जेनजी आन्दोलनको आवरणमा अराजक समूहले भदौ २४ गते कोइराला निवासमा आगजनी, तोडफोड र लुटपाट मच्चायो । आगो लगाएर निवासको ऐतिहासिकता स्वाहा पारियो ।
डा. शेखरकी पत्नी पुनमको आँखाअघि नै घर माथि आक्रमण भयो । उनी भन्छिन्, ‘१९९०, २०४५, २०७२ को भूकम्पले पनि नभत्काएको ऐतिहासिक धरोहर आफ्नै आँखाअगाडि ध्वस्त भएको देख्न पर्यो ।’ आगो लगाएपछि घरमा सिलिन्डर विस्फोट भयो । भाँडा कपडासहित घरभित्र रहेका सबै कुरा जलाइयो । राजनीतिकर्मीहरु यो घटनालाई व्यक्तिगत क्षतिका रूपमा नमानेर विराटनगरको राजनीतिक र सामाजिक विरासत माथिको प्रहार भन्छन् ।

कोइराला परिवारको राजनीतिक योगदान शताब्दी लामो छ । जहानियाँ राणाशासनको समयमा सिन्धुलीको दुम्जाबाट आएका कालिदास कोइराला काठमाडौंबाट रंगेली पठाइए । उनलाई तत्कालीन राणाशासकले सजायको रूपमा त्यहाँ पठाएका थिए । उनीसँगै कृष्णप्रसाद कोइराला पनि विराटनगर आए ।
कृष्णप्रसादले जनताको पक्षमा निडर भएर उठ्ने काम गरे । उनले शिक्षा, स्वास्थ्य, धार्मिक र सामाजिक क्षेत्रमा सक्रियता देखाए । जसले उनको राणाशासनसँगको द्वन्द्वलाई अझ स्पष्ट बनायो । यही विराटनगरबाट मात्रिकाप्रसाद, बीपी र गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बन्न पुगे ।
विराटनगरको राजनीतिक चमक गिरिजाप्रसाद कोइरालासँगै धिमा हुँदै गयो । पछिल्लो पुस्तामा राजनीतिमा सक्रिय पात्र सीमित छन् । कोइराला परिवारमा डा. शेखर, डा. शशांक र सुजाता मात्र राजनीतिमा सक्रिय छन् । तीमध्ये आगामी फागुन २१ को निर्वाचनमा नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखरले मात्रै उम्मेदवारी दिएका छन् ।

मोरङको निर्वाचन क्षेत्र नम्बर ६ बाट चुनावमा होमिएका उनले ८ बुँदे अठोटपत्र लिएर राजनीतिक विरासत फिर्ता ल्याउने लक्ष्य राखेका छन् । अपराधिक समूहले जलाएर खरानी बनाएको ऐतिहासिक निवासबाटै चुनावमा होमिने साहस उनले गरेका हुन् । आगोले सबै सकिए पनि त्यही घरबाट उनले निर्वाचन लड्ने आँट र चुनाव जित्ने हिम्मत गरिरहेका छन् ।
कोइराला परिवारको राजनीतिक योगदानको विगतलाई काँधमा बोकेर ऊर्जाका साथ अघि बढिरहेका कोइराला खरानी बनाएको घरभित्र पहिलोपटक असोज ९ गते पस्दा स्तब्ध बनेका थिए । तर, हिम्मत हारेनन् । अहिले ध्वस्त बनाइएको घरमा बसेर साहसका साथ चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । कांग्रेसको पुरानो विरासत जोगाउने अभियानमा सक्रिय छन् ।

डा. शेखरसँग नेकपा (एमाले)का विनोद ढकाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रुविना आचार्य, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का ओपेन्द्र रायलगायत १७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । मोरङ–६ मा कांग्रेसको चुनावी अभियानलाई व्यक्तिगत जितको लागि मात्रै नभइकन खरानीमाथि उभिएर डा. शेखरले गरेको विराटनगरको राजनीतिक चमक फिर्ता ल्याउने प्रतिज्ञासँग पनि जोडेर हेरिन्छ ।
खरानीमाथि उभिएका डा. शेखरलाई ध्वस्त बनाइएको घर मर्मत सम्भारका लागि ३ महिनाजति लाग्यो । घरलाई सामान्य हिसाबले बस्न हुनेसम्म बनाइएको छ । तर, आगोको लप्काले सकिदिएको निवास अझै पनि खण्डहर देखिन्छ । त्यहाँ पुग्नेको मन कोइराला निवासको बेहालत देखेर बेचैन हुन्छ । निवासको गेट खुल्नेबित्तिकै पूर्वप्रधानमन्त्री स्वः गिरिजाप्रसाद कोइरालाले चढ्ने गाडी देख्न सकिन्छ तर, आगो लगाएर ध्वस्त पारिएको अवस्थामा ।

ध्वस्त बनाइएको निवासको एउटा भवनमा माथिबाट टेन्ट लगाएर घाम छेक्नेसम्म बनाइएको छ । कोइराला निवासमा पुग्ने पाहुनाहरु त्यही टेन्टमुनि छलिएर प्लाष्टिकका कुर्सीमा बस्छन् । यसलाई घरको पुनर्निर्माण मात्रै नभएर विराटनगरको राजनीतिक विरासत बचाउने डा शेखरको कदमका रूपमा लिइएको छ ।
विराटनगरका राजनीतिक विश्लेषक भट्टराई भन्छन्, ‘विराटनगरले राष्ट्रिय स्तरका नेता उत्पादन गरेको छ । तर, विराटनगर आज राष्ट्रिय राजनीतिमा ओझेलमा परेको छ ।’ पछिल्लो समय भने डा. शेखरले पुरानो विरासत जोगाउँदै विराटनगरलाई मात्रै नभएर राजनीतिको केन्द्र रहेको मोरङलाई राजनीतिक हिसाबले जीवन्त एवं चलायमान बनाउन खोजिरहेको उनको बुझाइ छ ।

विपक्षी र विभिन्न तत्वको प्रहारदेखि निवासमा आगजनीको आक्रमणसम्मका पीडा बेहोरेर थिलथिलो बनेका डा. शेखरले देखाएको हिम्मतसँग भने आशा गर्ने केही ठाउँ रहेको विश्लेषकहरु बताउँछन् । विश्लेषक भट्टराई विराटनगरले उत्पादन गरेका ६ जना प्रधानमन्त्री र अन्य उच्चस्तरीय नेताहरूले रचेको राजनीतिक इतिहासलाई डा. शेखरले सम्हाल्नुपर्ने बताउँछन् ।
डा. शेखरको उम्मेदवारी विरासतलाई बचाउने महत्वपूर्ण प्रयासको रूपमा हेरिएको छ । उनी २०७९ को निर्वाचनमा ३५ हजार २३४ मत प्राप्त गरेर विजयी भएका थिए । उनका निकट प्रतिद्वन्द्वी नेकपा (एमाले)का लालबाबु पण्डित थिए । यसपटक पुनः चुनावमा होमिएका डा. शेखर मोरङ–६ लाई राजनीतिक राजधानी बनाउने र विराटनगरको राजनीतिक चमक पुनः स्थापित गर्ने लक्ष्यमा छन् ।
डा. शेखरको अनुभव, कोइराला परिवारको नाम र राजनीतिक विरासतले उनलाई अझ बलियो उम्मेदवार बनाएको विश्लेषण गरिन्छ । त्यहाँमाथि ऐतिहासिक कोइराला निवासमा अपराधिक समूहले गरेको आगजनीको सहानुभूति पनि उनले प्राप्त गर्ने विश्लेषकहरु बताउँछन् । नेपाली कांग्रेस विराटनगर महानगर सभापति दीपक चापागाईं डा शेखर मतदाताको विश्वास जित्दै राष्ट्रिय राजनीतिको इतिहास र विराटनगरको गर्व पनि साथमा लिएर अघि बढिरहेको बताउँछन् ।

जटिल स्थितिमा पुगेको देशको राजनीति सम्हाल्न डा. कोइरालाबाहेक अरुबाट सम्भव नहुने उनको बुझाइ छ । ‘विराटनगरको पुरानो राजनीतिक राप र ऐतिहासिक योगदानलाई बचाउन डा. शेखरबाट मात्रै सम्भव देख्छु,’ सभापति चापागाईंले भने, ‘मुलुकमा बाह्य हस्तक्षेप बढिरहेका बेला निर्वाचन मतपेटीको प्रतिस्पर्धा मात्र नभएर मोरङको राजनीतिक भविष्य र विरासत बचाउने लडाइँ पनि हो भन्ने आम जनताले बुझ्न जरुरी छ ।’
‘संकटका बेला सबैले सम्झिने डा. शेखर कोइरालालाई नै हो । त्यही भएर फागुन २१ गते सबैले मत दिएर उहाँलाई विजयी गराउनुपर्छ । सबै हिसाबले ओझेलमा परिरहेको विराटनगरसहित समग्र मोरङलाई अघि बढाउन डा. शेखरको विकल्प छैन,’ उनी भन्छन् । उनका अनुसार डा. शेखरको काँधमा विराटनगरको राजनीतिक विरासत बचाउने चुनौतीदेखि ऐतिहासिक र वर्तमान परिस्थितिलाई सँगसँगै लिएर अघि बढ्ने दायित्व पनि छ ।

विराटनगरको गौरव, राजनीतिक स्मृति र प्रजातान्त्रिक आन्दोलनको बीउलाई संरक्षण गर्न चाहनेहरुलाई चुनावमा डा. शेखरको विकल्प नखोज्न चापागाईंको आह्वान छ । विश्लेषकहरु विराटनगरको महत्व र ऐतिहासिकता सम्हाल्ने जिम्मेवारी डा. शेखरको काँधमा रहेको बताउँछन् । उनीहरुका अनुसार व्यक्तिगत नभइकन विराटनगर, मोरङ एवं समग्र देशको गौरव र राष्ट्रिय राजनीतिको स्मृतिलाई जोगाउन खरानीमाथि उभिएर डा. शेखरले अनेक चुनौतीको सामना गरिरहेका छन् ।
सभापति चापागाईं विराटनगर र समग्र मोरङलाई फेरि राष्ट्रिय राजनीतिको नक्शामार्फत चम्किलो केन्द्रका रूपमा फर्काउन तथा समग्र क्षेत्र नम्बर ६ को विकासलाई दीर्घकालीन हिसाबले अघि बढाउन डा. शेखरले चुनाव जित्नैपर्ने बताउँछन् । तर, १ लाख ३७ हजार ८३२ मतदाता रहेको मोरङ–६ को भविष्य एवं राजनीतिक दिशा भने आगामी फागुन २१ गतेले तय गर्नेछ ।


























