
काठमाडौं । मध्यपूर्वमा विकसित पछिल्लो सुरक्षा अवस्थालाई ध्यानमा राख्दै सरकारले त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्न ‘इमरजेन्सी रेस्पोन्स टिम’ गठन गरेको छ ।
परराष्ट्र सचिव अमृतबहादुर राईको संयोजकत्वमा गठन गरिएको उक्त टिमले मध्यपूर्वमा विकसित घटनाक्रमको निरन्तर अनुगमन, अन्तरनिकाय समन्वय तथा आवश्यक परे उद्धार व्यवस्थापनका लागि सरकारलाई सुझाव दिनेछ । मंगलबारको मन्त्रीस्तरीय बैठकले टिम गठन गर्ने निर्णय गरेको सहसचिव रामकाजी खड्काले जानकारी दिए ।
उनका अनुसार मध्यपूर्वका विभिन्न देशमा कार्यरत नेपालीको सुरक्षालाई प्राथमिकतामा राखेर कूटनीतिक तथा प्रशासनिक तयारी अघि बढाइएको हो । आवश्यक परे मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संस्थासँग समन्वय गरी उद्धार प्रक्रिया अघि बढाइने सरकारको तयारी छ ।
गठित टिममा गृह, अर्थ, कानुन, न्याय तथा संसदीय मामिला, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधि रहनेछन् । साथै, वैदेशिक रोजगार विभाग, अध्यागमन विभाग, कन्सुलर सेवा विभाग र नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधिसमेत सहभागी रहने जनाइएको छ ।
सम्बन्धित निकायलाई प्रतिनिधि पठाउन पत्राचार भइसकेको र टिमले कार्यसम्पादन सुरु गरिसकेको जनाइएको छ ।

























