
काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको सामूहिक बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले चार जना किशोरलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ परेका चारै जना १८ वर्षमुनिका नाबालक हुन् ।
गुर्भाकोट नगरपालिका–६ घर भई हाल वीरेन्द्रनगर–१ मा बस्दै आएकी कक्षा ११ मा अध्ययनरत इनिसा फागुन २३ गते वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा गम्भीर अवस्थामा फेला परेकी थिइन् । उनलाई तत्काल प्रदेश अस्पताल कालागाउँ पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनाको दिन बिहान ६ बजे ट्युसन पढ्न भन्दै घरबाट निस्किएकी इनिसा अबेरसम्म नफर्किएपछि खोजी गर्दा शहीद पार्क क्षेत्रको जङ्गलमा रक्ताम्मे र बेहोस अवस्थामा भेटिएकी थिइन् ।
मृतकका आफन्तले शरीरमा देखिएका चोटपटक, लुछिएको कपाल र घटनास्थलको प्रकृति हेर्दा उनलाई तड्पाएर सामूहिक बलात्कारपछि हत्या गरिएको दाबी गर्दै फागुन २४ गते प्रहरीमा जाहेरी दिएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी मोहनजंग बुढथापाले घटनाको गम्भीरताका साथ अनुसन्धान भइरहेको बताए ।
प्रहरीले घटनाकै दिन २३ गते एक जना र २४ गते थप तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ । पोष्टमार्टम रिपोर्ट आएपछि घटनाको थप वास्तविकता खुल्ने प्रहरीको भनाइ छ । पीडित परिवारले दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।

























