सांकेतिक तस्बिरधनगढी । कैलालीको इलाका प्रहरी कार्यालय टीकापुरको निर्माणाधीन भवनको छतबाट खसेर प्रहरी जवान सन्देश चदाराको मृत्यु भएपछि घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो । सोमबार राति करिब ११ बजे ड्युटीकै क्रममा छतबाट खसेका चदारालाई तत्काल टीकापुर प्रादेशिक अस्पताल पुर्याइए पनि उपचारका क्रममा उनको ज्यान गएको थियो ।
मृतकका आफन्तले घटनालाई शंकास्पद भन्दै निष्पक्ष छानबिनको माग गरेका छन् । उनीहरूले घटनाको यथार्थ विवरण नआएसम्म शव परीक्षण गर्न नदिने अडान राखेका छन् ।
आफन्तहरूले कार्यालय परिसरको सीसीटीभी फुटेज सार्वजनिक गर्नुपर्ने माग समेत अघि सारेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले घटनाको गम्भीरतालाई ध्यानमा राख्दै छानबिन प्रक्रिया अगाडि बढाइएको बताए । अहिले मृतकको शव परीक्षणका लागि अस्पतालमै राखिएको छ ।



















