
धरान । सुनसरीको धरान उप-महानगरपालिका-१३ फुस्रेबाट प्रहरीले ३० किलो अवैध लागू औषध गाँजासहित एक युवकलाई नियन्त्रणमा लिएको छ। कोशी प्रदेश प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको संयुक्त प्रहरी टोलीले बिहीबार बिहान सवा ९ बजेतिर उनलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा संखुवासभाको सिलिचोङ गाउँपालिका-४ बस्ने २० वर्षीय सन्दिप राई छन्। शंकास्पद अवस्थामा हिँडिरहेका राईले बोकेको झोला जाँच गर्दा भित्र लुकाएर राखिएको अवस्थामा ३० किलोग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरी टोलीले बरामद गरिएको गाँजा र अभियुक्त राईलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरान पुर्याएको छ। उनीमाथि लागू औषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको र यस घटनामा अन्य व्यक्तिहरूको संलग्नताबारे पनि खोजतलास भइरहेको प्रहरीले बताए।

























