
विराटनगर । नेपाल भाषा तथा सांस्कृतिक संघ ‘झि पुचः’ विराटनगरले सुदर्शन कपिला सम्मान २०८२ मध्यपुर ठिमीका संस्कृतिविद् गणेशराम लाछीलाई प्रदान गरेको छ । शुक्रबार विराटनगरको झी पुचः ले सम्मान प्रदान गरेको हो ।
नेपाल भाषाको संरक्षण, सम्बर्द्धन एवम् जगेर्ना गर्ने संस्था वा व्यक्तिलाई प्रत्येक दुई वर्षमा विराटनगरको झी पुचः ले सम्मान गर्दै आएको छ ।
विराटनगरका सुदर्शनबहादुर श्रेष्ठले स्थापना गरेको २० लाख रुपैयाँको अक्षयकोषबाट सो सम्मान प्रदान गरिदै आएको छ । सम्मानमा २ लाख रुपैयाँको थैली र करिब ५० हजार रुपैयाँ लागतमा निर्माण गरिएको कलात्मक सुदर्शन कपिला सिरपा प्रदान गरिउको हो ।
पाँच दशक देखि नेपाल भाषा, संस्कृति, कला, साहित्य, नाटक र नेवाः परिकारको पहिचानका लागि देश र विदेशमा क्रियाशील संस्कृतिविद् लाछीलाई सम्मान गरिएको झी पुचः विराटनगरले जनाएको छ ।
कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली, संस्थापक सुदर्शनबहादुर श्रेष्ठ लगायतले २ लाख रुपैयाँको थैली र सुदर्शन कपिला सिरपा प्रदान गरेका थिए ।
सो सम्मान २०७६ सालमा संस्कृतिविद् सत्यमोहन जोशी र २०७८ सालमा सिक्किमको सिक्किम नेवाः गुठी र २०८० सालमा नेवा खलः कास्कीलाई प्रदान गरिएको थियो ।























