
ताप्लेजुङ । प्रसिद्ध शक्तिपीठ ताप्लेजुङको पाथीभरा मन्दिरमा फागुन महिनामा साढे १८ हजारभन्दा बढी तीर्थालुले दर्शन गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार यस महिनामा १८ हजार ६ सय ५२ जना भक्तजनले मन्दिरको दर्शन गरेका हुन् ।
पाथीभरा क्षेत्र विकास समितिले फागुन महिनाभर मन्दिरमा संकलन भएको भेटी रकम पनि सार्वजनिक गरेको छ । समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार फागुनमा कुल ३१ लाख १० हजार रुपैयाँ भेटी गणना गरिएको छ ।
समितिले पारदर्शिता कायम गर्न हरेक महिनाको मसान्तमा उक्त महिनाभर आएका दर्शनार्थीको संख्या र संकलन भएको भेटी रकमको विवरण सार्वजनिक गर्दै आइरहेको छ ।
हिउँद सकिएर मौसममा सुधार आएसँगै पाथीभरा दर्शनका लागि जाने तीर्थालुहरूको संख्या बढ्न थालेको छ । संकलित भेटी रकम पाथीभरा क्षेत्रको पूर्वाधार विकास, कर्मचारी व्यवस्थापन र मन्दिरको संरक्षणमा खर्च गरिँदै आएको समितिले जनाएको छ ।

























