
विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका –१० मा रहेको सिद्धार्थ सेकेन्डरी स्कुलले ३१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ ।
वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा प्ले ग्रुपदेखि कक्षा १० सम्मका विद्यार्थीहरूले नृत्य, गायन, वक्तृत्वकला, चित्रकला, कविता वाचन, विज्ञान तथा सूचना प्रविधि (आईटी) सम्बन्धी प्रदर्शनीका साथै सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट प्रतिभा प्रस्तुत गरेका विद्यार्थीहरूलाई पुरस्कृत गर्नुका साथै छात्रवृत्ति प्रदान गरिएको थियो । सो अवसरमा उत्कृष्ट विद्यार्थी तथा ४ जिपिए ल्याउने विद्यार्थीहरूलाई विशेष सम्मान तथा पुरस्कार प्रदान गरियो ।
त्यस अवसरमा विद्यालयका पूर्व विद्यार्थी राकेश श्रेष्ठले ३ लाख रुपैयाँको अक्षयकोष स्थापना गरी ४ जना विद्यार्थीलाई विद्यालयका प्रिन्सिपल अर्जुन बस्नेत र राकेशका बुवा गोविन्द श्रेष्ठले संयुक्त रूपमा नगद तथा प्रमाणपत्र प्रदान गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रिन्सिपल बस्नेतले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि संस्कार, अनुशासन र प्रविधिमैत्री शिक्षालाई विद्यालयले प्राथमिकतामा राखेको बताए । उनले विद्यालयले शैक्षिक गुणस्तरमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य रहेको उल्लेख गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निलम ढुंगानाको सभापतित्व भएको कार्यक्रममा अभिभावक, पूर्व विद्यार्थी, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो

























